• ५ कात्तिक २०८१, सोमबार

अखाद्य वस्तु बेच्नेलाई कारबाही

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ५ गते । चाडपर्वलक्षित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी खाद्य बजार निरीक्षण, अनुगमन तथा परीक्षणलाई तीव्रता दिएको छ । 

विभागले आइतबार ललितपुर महानगरपालिका जावलाखेलस्थित विभिन्न खाद्य व्यवसायको निरीक्षण अनुगमन, खाद्य पदार्थको नमुनाको प्रारम्भिक चेकजाँच गरी कारबाही पनि गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । ललितपुरको जावलाखेलमा रहेको जावलाखेल स्पेसल बर्गर हाउसमा अनुगमन गर्दा खाद्य रङको प्रयोग गर्ने गरेको पाइएको प्रवक्ता महर्जनले बताउनुभयो । 

तार्ने तेलको नमुना चेकजाँच गर्दा कैफियत पाइएको बताउँदै उहाँले कैफियत पाइएको दुई लिटर तेल नष्ट गरिएको र मापदण्ड अनुरूप खाद्य रङको प्रयोग नगर्न निर्देशन दिनुका साथै सो पसलबाट प्रशोधित पिउने पानीको नमुना सङ्कलन गरिएको जानकारी दिनुभयो । 

जावलाखेलमै बद्री हलवाई पसलमा अनुगमन गर्दा खाना बनाउने ठाउँ र भाडा सफा गर्ने स्थानसँगै रहेको र साँघुरो देखिएको बताउँदै प्रवक्ता महर्जनले तार्ने तेलको नमुना चेकजाँच गर्दा कैफियत नपाइएको बताउनुभयो । अनुगमनका क्रममा रङ राखिएको दुई केजी पुरी नष्ट गरिएको र खुवा मिठाईको नमुना सङ्कलन गरिएको उहाँले बताउनुभयो । त्यस्तै गणेश मिठाई भण्डारमा अनुगमन गर्दा मसीजन्य कागजको प्रयोग गर्ने गरेको र पुरीमा रङ प्रयोग गर्ने गरेको पाइएको विभागले जनाएको छ । तार्ने तेलको नमुना चेकजाँच गर्दा कैफियत नपाइएको जानकारी गराउँदै विभागले त्यहाँ पनि रङ राखिएका दुई केजी पुरी नष्ट गरिएको र खुवा मिठाईको नमुना सङ्कलन गरिएको जनाएको छ ।

जावलाखेल बर्गर हाउसमा पेस्ट नियन्त्रणको उचित व्यवस्थापन नदेखिएको विभागले जनाएको छ । सो हाउसमा पनि तार्ने तेल र प्रशोधित पिउने पानीको नमुना चेकजाँच गर्दा कैफियत नपाइएको विभागले जनाएको छ ।