• ५ कात्तिक २०८१, सोमबार

इआरएस टावर प्रयोग गरी प्रसारण लाइन सञ्चालनमा ल्याइँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ५ गते । अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामो साँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइने भएको छ । 

बाढीले रामेछापको मन्थली नगरपालिका–१३, देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ । 

खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको र भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएकाले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जति सक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ ।