• ४ कात्तिक २०८१, आइतबार

खुर्कोटमा बेलिब्रिज पुन निर्माण सकियो

blog

रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटमा जडान गरिएको पुल । तस्बिर: नेपाली सेना

नवराज श्रेष्ठ

रामेछाप, कात्तिक ४ गते । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माण गरिरहेको नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ । शनिवार सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । अहिले सेनाले सिन्धुली पटीको पुल र हालै जडान गरिएको बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम गरिरहेको छ । त्यसै गरी पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिल्ने गरी ढलान गर्ने काम बाकी छ ।

यो ढलानको काम सडक विभागले चाडै गरेको खण्डमा पुलको भार क्षमता परीक्षण लगायतका काम गरी अबको एक हप्ताभित्रै खुर्कोट पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ । यही असोज १२ गते परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल पुरै र पक्की पुल आधा (रामेछाप तर्फको) भाग बगाएको थियो । जसका कारण रामेछाप जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गसँगको सञ्जाल टुटेको थियो । पुल बगाएपछि रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्लासम्मको छोटो दूरीको सडक मार्गको सञ्जाल पनि टुटेको थियो ।

खुर्कोट पुल बगाएपछि बिपी राजमार्ग मार्फत ४ घण्टमा काठमाडौँ पुगिरहेका रामेछापवासी पुष्पलाल लोक मार्ग मन्थली– चरिकोट–सिन्धुपाल्चोक सडकबाट काठमाडौँ पुग्न ६ घण्टा भन्दा बढी समयको अप्ठेरो बाटोबाट यात्रा गर्न बाध्य रहेको मन्थली नगरपालिका–९ पुरानागाउँका विनोद श्रेष्ठले बताउनुभयो । खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ ७५ किलोमिटर दूरी कम भएको थियो ।