• १० मंसिर २०८१, सोमबार

माछापालनतर्फ आकर्षण

blog

घोराही समाचारदाता

घोराही, कात्तिक ४ गते । दाङमा व्यावसायिक माछापालनमा वृद्धि भएसँगै उत्पादन बढ्न थालेको छ । माछापालनका लागि उपयुक्त माटो, हावापानीसँगै सरकारले अनुदान दिन थालेपछि व्यावसायिक माछापालनसँगै उत्पादनमा वृद्धि हुँदै गएको छ । माछाको उत्पादनमा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताउनुभयो । अधिकृत चौधरीका अनुसार अहिले जिल्लामा वार्षिक ६१५ मेट्रिक टनसम्म माछा उत्पादन हुने गरेको छ । माछापोखरी मर्मतसँगै प्रविधिमा यस वर्ष सहयोग भएकाले ७०९ मेट्रिक टन माछा उत्पादन हुने अनुमान गरिएको अधिकृत चौधरीले बताउनुभयो । 

जिल्लामा करिब दुई सय हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जसमा व्यावसायिक रूपमा पोखरी विस्तार गरेर ११७.७७ हेक्टर र प्राकृतिक तथा कृत्रिम जलाशयमा ७७.३ हेक्टर क्षेत्रफलमा माछापालन हुने गर्दछ । जसमा सबैभन्दा धेरै लमही नगरपालिकामा ३२ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ ।  घोराही उपमहानगरपालिकामा २७.७ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा २४.०१, गढवा गाउँपालिकामा १३.८६, राप्ती गाउँपलिकामा ७.७, दङ्गीशरण गाउँपालिकामा ५.४१, शान्तिनगर गाउँपालिकामा ३.४, राजपुर गाउँपालिकामा १.४२, बबई गाउँपालिकामा ०.९५ र बङ्गलाचुली गाउँपालिकामा ०.५२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुने गरेको छ ।