• १० कात्तिक २०८१, शनिबार

नौ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते । चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) नौ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ । 

उद्योग विभागका अनुसार साउनदेखि असोज महिनासम्म २१२ परियोजनामार्फत नौ अर्ब १२ करोड ९७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो । गत भदौ महिनासम्म १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार असोज महिनामा मात्र ३४ परियोजनामार्फत तीन अर्ब ३० करोड ५३ लाख ५६ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । जसमध्ये ३३ साना र एक मझौला परियोजना लगानी प्रतिबद्धता रहेको विभागले जनाएको छ । पर्यटन क्षेत्रका परियोजनमा लगानी गर्न विदेशी लगानीकर्ता आकर्षित देखिएका छन् । 

विभागको तथ्याङ्क अनुसार चालु आवको तीन महिनामा नेपालमा दर्ता भएका विदेशी लगानीका परियोजनामध्ये ९३ परियोजना अर्थात् कुल परियोजनाको ७१ प्रतिशत परियोजना पर्यटन सम्बद्ध छन् । यस्तै सेवा क्षेत्रमा १८ परियोजना, उत्पादनमूलक १२ परियोजना, सूचना प्रविधिमूलक पाँच, कृषिजन्य परियोजनामा दुई र खानीजन्य एक परियोजनामा लगानी प्रतिबद्धता आएको छ । विदेशी लगानीकर्ताले नेपालको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेकै कारण पनि यस क्षेत्रमा धेरै लगानी प्रतिबद्धता आउने गरेको मन्त्रालयले जनाएको छ । पर्यटनपछि दोस्रोमा सेवा क्षेत्रमा लगानीकर्ता आकर्षित देखिएका छन् । विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ३९८ परियोजनामार्फत पाँच खर्ब २७ अर्ब ३२ करोड ३१ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

स्वचालित मार्गबाट एक अर्ब 

स्वचालित मार्गबाट असोज महिनासम्म एक अर्ब १३ करोड रुपियाँ लगानी बराबरको ७३ परियोजना स्वीकृत भएका छन् । असोज महिनासम्म उत्पादनमूलक दुई परियोजनामा ७५ करोड, पर्यटनमूलक क्षेत्रमा नौ परियोजनामा ३२ करोड, सेवामूलक पाँच परियोजनामा २८ करोड, पूर्वाधारमूलक दुई परियोजनामा चार करोड रुपियाँ लगानी प्रतिबद्धता आएको हो । स्वचालित मार्गबाट सबैभन्दा धेरै सूचना प्रविधिमूलक ५५ परियोजना २९ करोड ८५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । गत वैशाखदेखि स्वचालित मार्गबाट लगानी प्रतिबद्धता गर्ने प्रक्रिया कार्यान्वयनमा आएको थियो । लगानीकर्ताले ५० करोड रुपियाँसम्मको लगानी स्वचालित मार्गबाट गर्न सकिने व्यवस्था छ । गत भदौ महिनामा स्वचालित मार्गबाट ८६ करोड २५ लाख रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको थियो । यस्तै साउन महिनामा भने स्वचालित मार्गबाट ५९ करोड ७५ लाख बराबरको लगानी स्वीकृत भएको थियो ।