• १० कात्तिक २०८१, शनिबार

क्षतिग्रस्त अप्पर तामाकोशीको निरीक्षण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत असोज ११ र १२ गतेको बाढीपहिरोले क्षति पुर्‍याएको दोलखाको अप्पर तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । 

मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलसहित प्रभावित स्थल पुगेका मन्त्री खड्काले आयोजना पूनर्निर्माणमा सरकारले पूर्ण साथ दिने बताउनुभएको छ । दोलखाको विगु गाउँपालिकास्थित ४५६ मेगावाट क्षमताको अर्ध जलाशययुक्त अप्पर तामाकोशी जलविद्युत् आयोजनाको ड्याम साइड, पावर हाउस, सडकलगायतका भागमा क्षति पुग्दा आयोजना अहिले बन्द छ । आयोजना व्यवस्थापन पक्षले कात्तिकभित्रै जल प्रवाही रूपमा आयोजना सञ्चालन गर्ने गरी गत सातादेखि मर्मत थालिसकेको छ । 

निरीक्षणका क्रममा मन्त्री खड्काले यो आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत् क्षेत्रमा दैनिक ठुलो घाटा बेहोर्नुपरेको भन्दै यथाशक्य चाँडो मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उक्त जलविद्युत् आयोजना बन्द हुँदा राज्यले असोजमा मात्र करिब ८५ करोड छ लाख रुपियाँ घाटा बेहोर्नुपरेको बताइएको छ । मन्त्री खड्काले बाढीपहिरोले आयोजनामा निम्त्याएको आर्थिक नोक्सानीको प्रत्यक्ष असर राज्य र जनतामा परेको भन्दै पहिरोका कारण उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “भोलिका दिनमा देखिन सक्ने ऊर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम गर्नु पर्छ यसमा मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,” मन्त्री खड्काले भन्नुभयो । 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले तीन हप्ताभित्रै थोरै भए पनि विद्युत् उत्पादन थाल्ने गरी काम थालिसकिएको जानकारी मन्त्रीलाई गराउनुभएको थियो । उहाँले हेडवक्र्स क्षेत्रमा थुप्रिएर बसेको ढुङ्गा, माटो र गेग्य्रान हटाउने काम आयोजनाले गरिरहेको बताउनुभयो । दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभिर आसपासमा ठुला ढुङ्गा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा जानआउन समस्या परेको सिइओ गौतमको भनाइ थियो ।