• १० मंसिर २०८१, सोमबार

टिमुरका बिरुवा बिक्रीबाट लाखौँ आम्दानी

blog

घोराही समाचारदाता

घोराही, कात्तिक ४ गते । दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ । बङ्गलाचुली गाउँपालिका–४, जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा उत्पादनसँगै बिक्री गरेर दुई लाखभन्दा बढी वार्षिक आम्दानी गर्ने गरेको हो । 

महत्वपूर्ण जडीबुटीका रूपमा रहेको टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाभित्रसँगै प्युठान, रोल्पा, सल्यान, रुकुमलगायतका जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताउनुभयो । जङ्गलमा पाइने टिमुरलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले करिब पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको अध्यक्ष बुढाले बताउनुभयो । नर्सरीका रूपमा विकास भएपछि बङ्गलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिहरूलाई बिरुवा बिक्री गर्ने गर्दै आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।