• ४ कात्तिक २०८१, आइतबार

सहकारी घोटालामा एक सय नौ जनाविरुद्ध मुद्दा

blog

विराटनगर समाचारदाता

 विराटनगर, कात्तिक ४ गते । माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेशकुमार कर्ण कायस्थलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । 

मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई शुक्रबार थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेशपछि कर्णलाई शुक्रबार नै मोरङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अध्यक्ष कर्णसहित १०९ जनाविरुद्ध सहकारी ठगीमा अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो । गत भदौमा १०३ जना सहकारीपीडितले अध्यक्ष कर्णसहित सञ्चालकविरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएपछि मोरङ प्रहरीले कर्णलाई पक्राउ गरेको थियो । त्यसपछि थप प्रतिवादीविरुद्ध मुद्दा चलाइएको छ । प्रहरीले सहकारीका पदाधिकारी, सञ्चालक समितिका सदस्यहरू, ऋण उपसमितिका संयोजक र सदस्य गरी २१ जना र बाँकी ऋणीविरुद्ध मुद्दा चलाएको हो । 

ती बचतकर्ताले दुई करोड ४२ लाख छ हजार ७५१ रुपियाँ बचत फिर्ता माग गरेका छन् । सहकारी संस्थाबाट १८३ जनाले छ करोड ३४ लाख ७६ हजार २२६ रुपियाँ ऋण लिएको देखिन्छ । धितो नराखी प्रवाह भएको अधिकांश ऋण जोखिममा रहेको प्रहरीले जनाएको छ । 

आर्थिक सङ्कटमा परेपछि दुई वर्षयता सहकारीको कार्यालय बन्द छ । सहकारी बन्द भएपछि बचतकर्ताले आफ्नो पैसा फिर्ताका लागि लामो समयदेखि पहल गर्दै आएका थिए ।