• ४ कात्तिक २०८१, आइतबार

जापानी ओके बाजेको नागरिक अभिनन्दन

blog

ओके बाजेलाई अभिनन्दन गरिँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), कात्तिक ३ गते । विगत तीन दशकदेखि पाल्पामा समाजसेवा गर्दै आउनु भएका जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको छ । जिल्लाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार जिल्लाको रामपुरमा अभिनन्दन गरिएको हो । 

पाल्पा र नवपुरका आठ स्थानीय तह सँगै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७ किसानबारीमा कार्यक्रम गरी संयुक्त रुपमा नागरिकस्तरबाट अभिनन्दन गरेको हो । अभिनन्दनको अवसरमा २०६१ सालमा बाजेको सम्मानमा किसानबारीमा निर्माण गरिएको ओके बाजे मिटेरी पार्कको जीर्णोद्धार गरी ओके बाजे र तीन बालकसहितको पूर्णकदको प्रतिमा निर्माण गरिएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उहाँको शालिक अनावरण गर्नुका साथै दोसला ओढाई अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो । 

मन्त्री सारुले ओके बाजेले निरन्तर निःस्वार्थ भावका साथ जिल्लाको ग्रामीण क्षेत्रका बस्तीको उत्थानको लागि महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । उहाँले दिनुभएको योगदान प्रशंसनीय रहेको भन्दै सामाजिक संघ संस्थाहरु संग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । सम्मान ग्रहण गर्दै ओके बाजेले ३० वर्ष अघि केही दिनका लागि नेपाल आएर घुम्ने क्रममा एउटा गाउँ पुग्दा धेरै समस्या देखिएपछि केही गर्न सकिन्छ भनेर आफू लागेको बताउनुभयो । 


पाल्पाली जनताको मायाँ र साथले सामाजिक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको बताउनुभयो । यहाँका नागरिकहरुले सम्मान गदै गर्दा निकै खुशी लागेको बताउँदै उहाँले सपनामा छु कि जस्तो लगेको अनुभव सुनाउनुभयो ।  

उहाँले भन्नुभयो, ‘म सुरुमा आउँदा  गाउँमा बाटो पनि थिएन । बिजुली पनि थिएन । पानी पनि थिए । एउटा मात्र चिज थियो, मायाँ । त्यही गाउँका जनताको मायाँले अघि बढ्ने प्रेरणा दियो ।’ ८६ वर्षीय पुगिसक्नु भएका उहाँले शरीरले साथ दिएसम्म जापान फर्किने इच्छा नभएको बताउनुभयो । ‘गाउँकै जनताको सेवा गर्ने मन छ । किन की मेरो मन पनि खुशी हुन्छ । गाउँका जनताको पनि ।’उहाँले भन्नुभयो । अहिले गाउँपालिका, नगरपालिका बने संगै ग्रामीण बस्तीहरुले निकै फड्को मारेको बताउनुभयो । 

कार्यक्रममा ईकीईकी जापानका माहित हुनुले जापान र पाल्पाली बीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग गरेको स्मरण गर्नुभयो । 

ओकेबाजे नागरिक अभिनन्दन एवं सम्मान कार्यक्रम मूल आयोजक समितिका संयोजक भिम विश्व भट्टराईले ओके बाजेले ३० वर्ष अघि देखि अनवरत रुपमा पाल्पाको ग्रामीण बस्तीमा दिनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै नागरिकस्तर बाट अभिनन्दन गरिएको बताउनुभयो । 

सदस्य सचिव लेखनाथ शर्मा मरासिनीले पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, नवलपुरको हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिका संगै २ सय भन्दा बढी संघसंस्थाले कार्यक्रममा सहभागीता जनाएको बताउनुभयो । 


ओके बाजेले जापान स्थित आफ्ना शुभेच्छुक, मनकारी व्यक्तित्व, सामाजिक कल्याणकारी संघ संस्था, विभिन्न व्यक्ति बाट सहयोग संकलन गरी पाल्पाका अधिकांश पालिका र नवलपुरका केही पालिकामा अनवरत रुपमा सेवा गर्दै आउनु भएको छ । 

उहाँले शैक्षिक संस्था, स्वास्थ्य संस्था, सामुदायिक विकास संस्थाको भवन निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति सहयोग, उत्पादनमूलक, आयमुलक आयआर्जन समुह तथा सहकारी संस्था, खानेपानी, सिंचाई कुलो, युवा क्लव, महिला विकास, बाटोघाटो, पुलपुलेसा निर्माण, स्वास्थ्य उपचार, विपदमा राहत, जेष्ठ नागरिक सेवा अक्षयकोष स्थापना लगाएतका क्षेत्रमा सेवा गर्दै आउनु भएको छ । 

कार्यक्रममा नेपाली लोक संस्कृति झल्कने पञ्चेबाजा, लाखेनाच, कौरा, झ्याउरे लगायतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । 

उहाँको सम्मानमा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठसंगै पाल्पा र नवलपुरका जनप्रतिनिधिहरुसहित जापान स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । साथै आठवटै पालिका भित्रका संघ संस्थाहरुले सम्मानपत्र सहित फूलमाला र दोसला ओढाएका थिए ।