• ३ कात्तिक २०८१, शनिबार

गठबन्धनको उद्देश्य स्थिर सरकार, सुशासन र आर्थिक विकास : डा.कोइराला

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता डा. शेखर कोइराला ।

हरि कोइराला

उर्लाबारी, कात्तिक ३ गते। नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले देश राजनीतिक रुपमा अप्ठ्यारोमा परेकाले कांग्रेस र एमाले बिच गठबन्धनको सरकार बनेको बताउनुभएको छ।

नेपाल भुतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनको बेलबारीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेपाल तमु बुद्धिष्ट गुम्बाको सभाहलमा भएको कार्यक्रममा बोल्दै कोइरालाले यो सरकारको प्रमुख काम भनेको राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन रहेको उल्लेख गर्दै उहाँले सरकारको काम गराइको लक्षण राम्रो नभएको बताउनुभयो।

सरकारको महत्त्वपूर्ण काम आर्थिक विकास हुनुपर्नेमा जोडदिँदै कोइरालाले देशको राजश्वबाट कर्मचारीलाई तलब दिन नपुग्ने अवस्था रहेकोले आर्थिक सुचाङ्क सुधार गर्नु गठबन्धनको सरकार पहिलो काम भएको उल्लेख गर्नुभयो। 

भारतले सैनिक भर्तीमा अग्निपथ गठन गरेको विषयमा दुई देशको परराष्ट्र मन्त्रीस्तरीय छलफल गर्नुपर्ने बताउँदै कोइरालाले गोर्खा भर्ती विषयमा भारतले सहमति मागे पनि नेपालले स्वीकृति नदिएको बताउनुभयो। अग्निपथ भारतीय सरकारले गठन गरेको अर्धसैनिक दस्ता हो। अग्निपथ गठन भएपछि नेपालीलाई भारतीय गोर्खा सैनिकमा भर्ती लिन छोडेको छ।

नेपाल भुतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टण्डनले भुतपूर्व सैनिक संघमा नेपाली सेनाका एक लाख भारतीय सेनाका एक लाख ५० हजार र बेलायती सेना र सिंगापुर पुलिसका ५० हजार गरेर तीन लाख रहेको बताउनुभयो। ०७८ फागनुमा नेपाली कांग्रेसले नेपाल भुतपूर्व सैनिक संघ विगठन गरेपछि संघलाई वर्तमान केन्द्रीय समितिले पुनर्जीवन दिएको बताउनुभयो। 

१८ जिल्लामा जिल्ला अधिवेशन भइसकेको र ५७ जिल्लामा तदर्थ समिति गठन भएको बताउँदै अध्यक्ष टण्डनले मधेस प्रदेशबाहेक सबै प्रदेशमा प्रदेश समिति गठन भइसकेको उल्लेख गर्नुभयो। 

नेपाल भुतपूर्व सैनिक संघका निवर्तमान केन्द्रीय अध्यक्ष धनबहादुर मास्की रानाले कांग्रेसले भुतपूर्व सैनिकलाई कुनै जिम्मेवारी नदिएको बताउनुभयो। सङ्घका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको सभापतित्वमा भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, मोरङ कांग्रेसका उपसभापति एवम् विराटनगर महानगरका नगर प्रमुख नागेश कोइराला, महासमिति सदस्य एवम् कोशी प्रदेश सभाका सांसद मानबहादुर लिम्बू, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का सभापति शंकर राई, नेपाल महिला संघ मोरङ सचिव प्रमिला थापा, विराटनगर महानगरका कांग्रेस सभापति दीपक चापागाईं, नेपाली कांग्रेस बेलबारीका उपसभापति नितु कोइराला लगायतले बोल्नुभएको थियो। 

कार्यक्रममा संघको कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ। कोशी प्रदेशको अध्यक्षमा जनक खत्री, उपाध्यक्षमा लक्ष्मीप्रसाद श्रेष्ठ, सचिवमा मोहन कार्की र सदस्यमा हेमलाल लिम्बू, निरबहादुर राई, भगिमान गुरुङ, अम्बर सिंह आङ्दम्बे, श्यामप्रकाश राई भक्तिबहादुर श्रेष्ठ, चैनध्वज लिम्बू हुनुभएको छ। सोही अवसरमा कांग्रेस नेता डाक्टर शेखर कोइरालाले ८१ वर्षीय भुतपूर्व सैनिक इन्द्रबहादुर कँडेललाई  सम्मान गरिएको थियो।