• ३ कात्तिक २०८१, शनिबार

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

blog

ललितपुरको सातदोबाटोमा शनिबार विद्युत सट भएर आगलागी भई क्षतिग्रस्त भएको चक्रपथ चल्ने महानगर यातायातको बा ४ ख १०६ नं को बस। तस्बिर : माधवप्रसाद घिमिरे/रासस

ललितपुर, कात्तिक ३ गते। ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ। 

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने  महानगर यातायातको  बा४ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिनुभयो। 

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी  भएको उहाँले जानकारी दिनुभयो। बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो। आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ।