• ३ कात्तिक २०८१, शनिबार

सरकारले सभापतिलाई धरपकड गर्‍यो : प्रमुख सचेतक परियार

blog

पत्रकार सम्मेलनमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ३ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको चौथो ठुलो दलको सभापतिमाथि सरकारले धरपकड गरेकोले जनतालाई केसम्म गर्ला भन्ने डर पैदा भएको बताउनुभएको छ। 

रास्वपा रुकुमपश्चिमको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न मुसीकोट पुग्नुभएका परियारले शनिबार आयोजित पत्रकार भेटघाटमा सरकारको रवैया देखाएको तर पार्टी नडराएको स्पष्ट बताउनुभयो। सहकारी ठगी प्रकरणमा शुक्रबार पार्टी सभापति पक्राउ परेको सन्दर्भमा उहाँले सरकारले सभापति रवि लामिछानेलाई पक्राउ गरेर गल्ती गरेको उहाँले बताउनुभयो। कानुनलाई सम्मान गर्छौ र अनुसन्धानमा सघाउँछौँ भन्दाभन्दै व्यक्ति र पार्टीका पछि हात धोएर लागेको घटना अकल्पनीय र खेदजन्य भएको उहाँको भनाइ छ। सरकार सर्वसत्तावादमा गएको उहाँको टिप्पणी छ।

सरकारले राजनीतिक प्रतिशोधकै लागि सभापति लामिछानेलाई गैरन्यायिक रूपमा पक्राउ गरेको परियारले दाबी गर्नुभयो। सरकारको यो कदमको कडा प्रतिवाद गर्ने समेत उहाँले बताउनुभयो। साङ्केतिक तथा प्रदर्शन लगायतका गतिविधि मार्फत सरकारको यो कदमको प्रतिवाद गर्ने उहाँको भनाइ छ।

सरकारले यसैगरी अन्याय थोपार्दै सत्ताको उन्माद बढाएमा एउटा राजनीतिक पार्टीका लागि सडक र जनता भन्दा ठुलो शक्ति केही पनि नहुने बताउनु हुँदै उहाँले सडक सङ्घर्षमा आउन समेत बाध्य हुने जनाउनुभयो। उहाँले मुद्दा मिल्ने अवस्थामा विभिन्न राजनीतिक दलसँग पार्टीले सहकार्य गर्ने समेत बताउनुभयो।