• १० मंसिर २०८१, सोमबार

अस्पताल भवन निर्माण अन्तिम चरणमा

blog

म्याग्दे गाउँपालिकामा बन्दै गरेको अस्पताल भवन । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ३ गते । तनहुँको म्याग्दे गाउँपालिकामा–१० शय्या अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको आर्थिक सहयोगमा म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको म्याग्दे गाउँपालिका पदाधिकारीले बताउनुभएको छ ।  

अस्पताल भवन निर्माणको काम कात्तिक मसान्तभित्र पूरा गरी सञ्चालनमा ल्याउने गरी काम धमाधम भइरहेका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । वि.सं. २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको  भवन निर्माणको ठेक्का ऋषि शक्ति–होम निर्माण जेभी कम्पनीले पाएको थियो । 

उक्त भवन वि.सं. २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । अधिकारीका अनुसार अस्पताल भवन निर्माण गर्न सात करोड ३४ लाख ५० हजार एकसय ९६ रुपियाँमा ठेक्का लागेको थियो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम अस्पताल निर्माण सुरु गरिएको थियो ।

अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार ‘हेल्थ असिस्टेन्ट’ र दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहने छ । सो अस्पताल सञ्चालन भएपछि सो क्षेत्रमा पृथ्वी राजमार्गमा भएको दुर्घटनामा घाइतेलाई आपत्कालीन सेवा प्रदान गर्न तथा  म्याग्दे  गाउँपालिका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । 

अस्पताल नहुँदा यस गाउँपालिका स्थानीय जनता सामान्य उपचारका लागि सदरमुकाम दमौली तथा पोखरा पुग्ने गरेका थिए । अस्पताल भवन निर्माण सम्पन्न हुन थालेपछि जनतामा आशा पलाएको स्थानीयको भनाइ छ ।