• १० कात्तिक २०८१, शनिबार

सिमरन (कथा)

blog

सिमरनले छुट्टिने बेलामा रुँदै सासूलाई गोडामा ढोगिन् । ससुरालाई हातमा ढोगिन् । नन्द, देवरसँग घुँक्कघुँक्क गर्दै लामो समयसम्म अँगालो मारिन् । घरको वातावरण एकदम शान्त र सन्नाटापूर्ण थियो । कोही कसैलाई केही भन्ने अवस्थामा थिएनन् । सासूससुरा, देवर, नन्द सबैको आँखा रसाएका थिए । टिलपिल आँसु खसिरहेको थियो ।

सिमरनले अनुरोधको भाषामा भनिन्, “प्रकाश कमसेकम मेरो माइतीघर अबको फेरि हुने घरसम्म तिम्रो गाडीमा छोडिदेऊ न ।” प्रकाश पनि निःशब्द थिए । केही बोलेन । एकपटक घरको चारैतिर हेरिन् । सासूससुरा परिवारका अन्य सदस्यको मुख हेर्न सकिनन् । एउटा सानो झोला अनि हातेब्याग बोकेर गाडीको पछाडि सिटमा गएर बसिन् । सधैँ माया गर्ने कुकुर, जसलाई डल्लु नामले पुकार्थिन् । पछाडि बसेको सिटको ढोकाछेउमा आएर हेरिरह्यो । उनले डल्लुसँग आँखा जुधाइनन् । घर छाडेर जानुको पीडा फेरि सधैँका लागि यो घरसँग सम्बन्ध तोड्नुका कारण पनि थियो होला । मनमनै भनिन्, “मानिससँग त व्यवहार मिल्न सकेन, पशुसँगको के नाता हुनु ।” पशु निश्चल छ । 

प्रकाशले बिस्तारै गाडी अगाडि बढायो । परिवारका सबै सदस्य गाडीछेउमा आए । कसैसँग पनि उनले बिदाइको औपचारिकता निभाइनन् । डल्लु भने धेरै परसम्म गाडीको पछाडि कुदिरह्यो । क्रमशः गाडीले वेगको गति लियो । दुवैजना मौन थिए । गाडीको आवाजले मात्रै सन्नाटालाई तोडेको थियो ।

मनमा विभिन्न तर्कना आइरह्यो । माइतीले के सोच्लान्, के भन्लान्, के व्यवहार गर्लान् । छरछिमेकीले घरमा गरेर खान सकिनँ अनि माइतीको शरणमा आई भन्लान् । त्यति धेरै माया गर्ने सासूससुरा, देवर, नन्दले के सोचे होलान् । मसँगै सधैँ खेलिरहने डल्लु कति निराश भयो होला । मलाई सधैँ खोज्छ होला । यस्ता कति हो कति कुरा मनमा खेलिरह्यो । कहिले आवेगमा आउँथिन् । कहिले शान्त हुन्थिन् । मन पूरै कुँडिएको थियो । आफूले गरेको निर्णयप्रति कताकता पश्चाताप पनि थियो । एक मनले भन्थ्यो– जे भयो राम्रै भयो, जे हुन्छ राम्रैका लागि हुन्छ । कति मैले मात्रै सहनु । 

गाडी आफ्नै वेगमा कुदिरह्यो । दुवै चुपचाप छन् । सायद बोल्ने विषयवस्तु थिएन । हुन पनि कसरी होस् । एक अर्कामा जन्मभर साथ निभाउने भनेर कसम खाएकाहरू फेरि जीवनभरका लागि छुट्टिँदै छन् । पराया हुँदै छन् । 

प्रकाशले छोटो समयका लागि गाडी रोक्यो । पछाडि सिटमा सिमरन मस्त निदाएकी थिइन् । कुनै किसिमको डिस्टर्ब गर्न चाहेन । एकपटक पूरै नियालेर अनुहार हेर्‍यो । मनमनै भन्यो, “केही गल्ती त मेरो पनि हो । किन मैले उनलाई समय दिन सकिनँ । सामान्य विवादमै किन हात छोडेँ होला ।” यस्ता किसिमका अनेक उतारचढाव मनमा आइरह्यो । गल्तीको महसुस र पश्चाताप ग¥यो । यति लामो प्रेम एकछिनको झगडाले भताभुङ्ग भयो । सायद उनको कुरा सुनेको, सहन सकेको भए पनि के बिग्रन्थ्यो होला । आज यो दिन देख्नु त पर्ने थिएन । आमाबुवा, भाइबहिनीको अनुहार सम्झ्यो । उनीहरूबिच कति प्रेम सद्भाव थियो । दिनभरि विभिन्न पार्टीसँगको भेटघाट, बैठक । कार्यालय स्टाफहरूको व्यवहार । दिन कसरी बित्थ्यो । उनलाई थाहा हुँदैनथ्यो । विवाह भएको पनि पाँच वर्षभन्दा बढी भएछ । समय कति चाँडै बित्यो पत्तै भएन । सधैँ हाँसीखुसी रमाइलोमै दिनहरू बिते । पुराना कुरा सम्झ्यो । विवाहको दिन, दुल्हन फर्काउन गएको समय । हनिमुनमा गएका दिन । सबै एक एक गरेर पुराना फिल्मका रिल घुमेझैँ दिमागमा घुम्न थाल्यो । हाँसो, खुसी, रोदन सबै सम्झ्यो । बिग्रेको केही थिएन, सबै राम्रैसँग चलिरहेको थियो । उनको एउटै मात्रै गुनासो थियो, आफूलाई समय नदिएको । सधैँ सबै कुरा तिम्रा लागि काम र कार्यालय मात्रै हो भन्थिन् । हुन पनि हो, मैले उनका लागि पूरा समय दिन सकेको थिएन । विवाहका सुरुका दिनबाहेक कहिल्यै घुम्न गएनौँ । कतै रेष्टुरेन्टमा खान, सिनेमा हेर्न गएनौँ । यति त यति हुँदाहुँदा माइती परिवारको विवाह व्रतबन्ध, सामाजिक कार्यमा समेत सँगै जान सकिनँ । सधैँ उनलाई एक्लै पठाएँ । फर्केर आएपछि उनको लामै गुनासो हुन्थ्यो ।

प्रकाशको मस्तिष्क ताते झैँ भयो । केही सम्झन सकेन । फेरि एक पटक श्रीमतीको अनुहार हेर्‍यो । बेस्सरी कामले थाकेझैँ मस्त निदाएकी थिइन् । उनलाई बोलाउने छुनेसमेत हिम्मत गर्न सकेनन् । मनमा अनेक कुरा खेलाउँदै गाडी अगाडि बढायो । गाडीले गति लियो । सूर्य पनि बिस्तारै ओह्रालो लाग्दै थियो । साँझ पर्ने अवस्था बन्दै गयो । आकाशमा गड्याङगुडुङको आवाज मनग्यै सुनिँदै थियो । गन्तव्य पुग्न अझै केही घण्टा लाग्ने छ । प्रकाशले ससुरालीको वातावरण कस्तो होला कल्पना गर्‍यो । पहिले हुने मानसम्मान अबको तिरस्कारको कल्पना गर्‍यो । खै र केही छैन, जे हुन्छ हुन्छ भनेरै मन बाँध्यो ।

एकछिन मुसलधारे वर्षा भयो । रात पनि झमक्कै पर्‍यो । अँध्यारोले आफ्नो गति लिन थाल्यो । यत्तिकैमा अगाडिका गाडी रोकिएको देखियो । पानी पनि बिस्तारै कम भयो अनि रोकियो । प्रकाशले गाडी रोक्यो । केही बेर पख्र्यो । तर अगाडिका गाडी बढ्न सकेनन् । केही मानिस यताउता गरिरहेका थिए । ‘दाइ के भएको हो, किन गाडी रोकिएको’ प्रकाशले प्रश्न गर्‍यो । एक जनाले जवाफ दियो, “अगाडि ठुलै पहिरो गएको छ, सायद आज गाडी जान सम्भव छैन होला ।” दुई जनाबिचको संवादले सिमरनको निद्रा खुल्यो । धेरै अगाडिसम्म गाडी जामको लर्को लागेको छ । यत्रतत्र मानिस छरिएका छन् । बढ्ने कुनै सम्भावना छैन । बिस्तारै रात छिप्पिन लाग्यो । प्रकाशले घडी हेर्‍यो, रातको १० बजिसकेछ । एक जनालाई सोध्यो– यहाँ कुनै होटल, लज छैन । जवाफ आयो, “धेरै अगाडि छ । तर हिँडेर जान पहिरोले सम्भव देखिँदैन ।” यी सबै कुराकानी, मानिसको ओहोरदोहोर अनि छिप्पिँदै गएको रात सबै सिमरनले हेरिरहेकी थिइन् । कुनै किसिमको प्रश्न गरिनन् । तर पनि मनमा एककिसिमको चिन्ता भने पलायो । रात कसरी कटाउने होला । हिजोसम्म आफ्नो सम्पूर्ण ठान्ने मानिलाई आज पराई ठानिन् । समय पनि कस्तो होला । प्राणभन्दा प्यारो मानिससँग आज झिनो भए पनि असुरक्षित महसुस गरिन् । 

लामै समय उनीहरूबिच बोलचाल भएन । प्रकाशले मनमनै सोच्यो । उनलाई कति भोक, प्यास लागेको होला । कति पिर, चिन्ता बोकेकी होलान् । मुख भने खोल्न सकेनन् । फेरि बर्सात्ले आफ्नो ताण्डव सुरु गर्‍यो । हावाहुरी, चट्याङ, पानी । “तिमीलाई भोक लागेको होला,” प्रकाशले मुख खोल्यो । पछाडिको सिटबाट लन्च प्याकेट र पानी सिमरनलाई दियो । उसले पूरै बेवास्ता गरिन् । निकै कर गरेर उनको हातमा खाना थमायो । ऊ पनि भोकले चुर थियो । तर पनि झुट बोल्यो, “आज बैठकमा धेरै खाना खाइयो । मलाई कुनै भोक छैन । मैले थप लन्च बक्स ल्याएको थिएँ ।” एकहोरो संवाद चलिरह्यो ।

सिमरनले मन नलागी नलागी खाना खाइन् । थोरै पानी पनि पिइन् । यति हुँदा पनि दुवैबिच कुनै किसिमको बोलचाल भएन । रात भने पूरै छिप्पिइसकेको थियो । मानिसको आवतजावत पनि बन्द भयो । बर्सात्ले फेरि उग्र रूप लियो । हावाहुन्डरी, पानी सबै एकैचोटि खनियो । पानी मस्त परिरहेको थियो । बेलाबेलामा चट्याङ पनि पथ्र्यो । गड्याङगुडुङको आवाजले पृथ्वी नै हल्लाएझैँ महसुस हुन्थ्यो । दुवैजना रातका कारण मस्त निद्रामा थिए । गाडीको चारैतर्फ पहिरो गएको थियो । प्रकाश गाडीलाई पहिरोले पुर्ने डरले बाहिर निस्केर पहिरो हटाउन थाले । एक्कासि ठुलो पहिरो आएर उनलाई थिच्यो । ऊ त्यहाँबाट बाहिर निस्कन सकेन । 

‘बचाऊ बचाऊ’ भनेर कराउन थाल्यो । उनलाई सहारा दिने कोही थिएन । ऊ झन्झन् पहिरोमा पुरिँदै जान लाग्यो । ‘मलाई बचाऊ सिमरन’ भनेर याचनासहितको गुहार माग्यो । उनले सुने नसुनेझैँ गरिरहिन् । उनले गुहार मागिरह्यो । याचना गरिरह्यो । सिमरनलाई यसले कुनै प्रभाव पारेन । अब करिब करिब प्रकाशको अन्तिम क्षणजस्तै थियो । पहिरोको दलदलमा ऊ पुरिँदै थियो, त्यसमाथि बर्सात्को प्रभाव ठुलै थियो । एक्कासि ठुलो चटयाङ पर्‍यो । चट्याङको आवाजले सिमरन झस्केर उठिन् । पूरै पसिनाले लथपथ । आफ्नो निधार छामिन् । शरीर छामिन् । पूरै पसिना पसिना भएकी थिइन् । प्रकाशलाई हेरिन् । ड्राइभर सिटमा मस्त निदाएको थियो । लामो सास फेरिन् । धन्य भगवान् । उनले भगवान्लाई बारम्बार धन्यवाद दिइरहिन् । 

अलछिन सपना छिः कस्तो नराम्रो देखेको । मनमनै सोचिन् । यो के हुँदै छ । किन यस्तो सपना देखेँ । बसेको सिटबाट बाहिर हेरिन् । पूरै उज्यालो भइसकेछ । सूर्यको प्रकाश पृथ्वीमा क्रमशः छरिँदै थियो । पहिरो खुलेर जाम परेका सबै गाडी मानिस गइसकेका थिए । श्रीमान्को अनुहार हेरिन् । ऊ अझै पनि निद्रामै थियो । कति दयालु अनुहार । बिस्तारै प्रकाशको निधारमा छामिन् । निधार तातेझैँ लाग्यो । हात समातिन् । हातको चिसो मुटुमा गएको महसुस गरिन् । सबै शरीर छामिन् । ओठमा मायालु तरिकाले चुम्बन गरिन् । चुबनको स्पर्शले प्रकाश ब्युँझियो । “ओहो उज्यालो पनि भइसकेछ । सरी है, पहिरोका कारणले समयमा पुर्‍याउन सकिनँ,” प्रकाशले माफी माग्ने शैलीमा दुःख व्यक्त गर्‍यो । सिटमै बसेर रात कटाउन पर्‍यो, कुनै दुःख त भएन । गाडी स्टार्ट गरेर अगाडि बढाउन थाल्यो । सिमरनले हात समातेर गाडी अगाडि बढाउन दिइनन् । दुवैले एकअर्कालाई हेरिरहे । कोही पनि बोल्न सकेनन् । “अब माइती हैन, घर जान चाहन्छु । जे हुनु थियो भयो,” दुःख व्यक्त गरिन् । यति भनेर प्रकाशलाई अगाँलो मारिन् । उसले केही सोच्न सकेन । सपना हो कि बिपना भनेर रनभुलमा पर्‍यो । एकोहोरो हेरिमात्रै रह्यो । आदेशात्मक शैलीमा भनिन्, “के हेरिरहेको गाडी फर्काऊ न । अब घर जानु पर्छ । बुवामुमा, नानी, देवर सबैले बाटो हेरेर बसिरहेका होलान् ।” प्रकाशले केही बुझ्न सकेन । बिस्तारै गाडी मोड्यो । “साँच्चिकै घर जाने हो त, जाने भए मेरो पनि एउटा सर्त छ,” सिमरनले उत्ताउलोपाराले भनिन्, “जाने हो के जाने, तिम्रा एक होइन, हजार सर्त मान्न तयार छु ।” ठिकै छ, त्यसो भए आजबाट हाम्रो नयाँ जीवनको सुरुवात भयो । एउटा नयाँ कसमको थालनी भयो । त्यसैले घर होइन, आज पहिलो दिन जीवनको दोस्रो सुरुवात नयाँ गन्तव्य जानु पर्छ । आज हाम्रो भेटघाटको पहिलो दिन हुने छ, उनले जवाफ फर्कायो । गाडी बेस्सरी हुइँकिँदै थियो, हनिमुनका लागि नयाँ गन्तव्य खोज्न ।

Author

सपूत कार्की