• २ कात्तिक २०८१, शुक्रबार

पोर्चुगल पठाउने भनी साढे तीन लाख ठगी गर्ने पक्राउ

blog

काठमाडौँ, कात्तिक २ गते । प्रहरीले पोर्चुगल पठाउने भनी तीन लाख ५६ हजार पाँच सय रुपियाँ ठगी गर्ने ३३ वर्षीया देवकी भुजुलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पोर्चुगल लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्कविहीन भएका भुजु पक्राउ परेका हुन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ कट्टुन्जे बस्ने भुजु काठमाडौँ टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीका अनुसार बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिराहाको सिराहा नगरपालिका वडा नं. ४ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नं. ४ ढुङ्गेधारा बस्ने ४१ वर्षीय हसन राजा पक्राउ परेका छन् ।

उनीमाथि बैकिङ कसुरमा जिल्ला अदालत बबरमहल, काठमाडौँको फैसलाले बिगो रकम १६ लाख ५० हजार रुपियाँसहित दुई वर्ष कैद सजाय तोकेको थियो ।