• १२ पुस २०८१, शुक्रबार

कृषकलाई प्रविधिसँग जोड्दै बाणगङ्गा

blog

कृषकको विवरण कम्प्युटरमार्फत् हेर्दै कृषि शाखा प्रमुख । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक २ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले कृषकहरूलाई प्रविधिमा जोड्न सुरु गरेको छ । खेती गर्ने तरिका, सिँचाइ गर्ने समय, मल राख्ने तालिका, बिउँ राख्ने र खेती बालीमा लाग्ने रोग लाग्दा गरिने उपचार प्रविधि मार्फत दिने गरी सेवा सञ्चालन भएको छ । पाथवे प्रविधि तथा सेवा प्रा.लि ले निर्माण गरेको ‘जियो कृषि’ एप्स नगरपालिकाले प्रयोगमा ल्याएको हो ।

पालिकाले एप्समार्फत् २ वर्षदेखि कृषकलाई प्रविधिसँग जोड्ने अभियान सुरु गरेको थियो । नगरपालिकाका ५ हजार कृषकले सेवा लिएका छन् । एप्समा खेतको लोकेसन सहितको विवरण, बाली लगाएको समय लगायतका विवरण हाले पछि सिँचाई गर्ने समय, मल हाल्ने समयको कृषकलाई एसएमएस मार्फत जानकारी दिने बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले बताउनुभयो ।

नगरपालिकाले सङ्कलन गरेको सर्वेक्षण अनुसार १५ हजार बढी घरधुरी कृषि पेसामा आबद्ध छन् । सेवा लिएका ५ हजार मध्ये १ हजार बढी सक्रिय रहेका छन् । एप्समार्फत् कृषकले नगरपालिकाले जारी गरेको सूचना प्रमुख बजारका मूल्य सुची, मौसमको जानकारी समेत थाहा पाउने कृषि शाखा प्रमुख लेष बहादुर केसीले बताउनुभयो ।

एप्स प्रयोग गर्दा तत्काल बालीमा लागेको रोग, किराको प्रकोपको उपचार गर्न समेत सहज भएको छ । बालीमा देखिएको समस्याको फोटो खिँचेर राख्दा देखिएको समस्या र उपचारमा प्रयोग गर्ने औषधीको समेत जानकारी दिने भएकोले युवा कृषकलाई सहज हुने मटेरीयाका कृषक इन्द्रेस चौधरीले बताउनुभयो ।