• २ कात्तिक २०८१, शुक्रबार

गाउँपालिकाको पर्यटकीय स्थलबाट एक करोड सत्ताइस लाख आम्दानी

blog

सूर्योदयको दृश्य हेर्न पुनहिल पुगेका पर्यटक  । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), कात्तिक २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलबाट चालु आर्थिक वर्षको सुरुमै एक करोड २७ लाख ६३ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको छ । पर्यटनलाई आन्तरिक आम्दानीको मुख्य स्रोत मानेको गाउँपालिकाले पर्यटकीय स्थललाई ठेक्कामा लगाएर उक्त आम्दानी गरेको हो । 

गाउँपालिकाभित्र रहेका मुख्य पर्यटकीय स्थल घोडेपानीको पुनहिल, भुरुङतातोपानी कुण्ड, पाउद्वार तातोपानी कुण्ड र रातोपानी तातोपानी कुण्डमा क्यान्टिन सञ्चालन र प्रवेश शुल्क सङ्कलनका लागि आय ठेक्कामा लगाएर पालिकाले आन्तरिक आम्दानी गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल पुनहिललाई ४० लाख, वडा नं २ को भुरुङतातोपानी कुण्डलाई ५६ लाख २५ हजार रुपियाँमा ठेक्का लगाइएको छ । पाउद्वार तातोपानी कुण्डलाई २८ लाख ७६ हजार र वडा नम्बर ६ स्थित रातोपानी तातोपानी कुण्डलाई दुई लाख ६१ हजार रुपियाँमा आय ठेक्कामा लगाइएको उहाँले जानकारी दिनुभयो । 

होटल हटस्प्रिङ प्रालि अन्नपूर्ण–२ सँग दुई पर्यटकीय स्थल पुनहिल र भुरुङतातोपानी कुण्ड सञ्चालन, क्यान्टिन र प्रवेश शुल्क सङ्कलन गर्ने अनुमतिसहित गाउँपालिकाले सम्झौता गरेको छ । 

कालीगण्डकी रुफटप रेस्टुरेन्ट अन्नपूर्ण–२ ले पाउद्वार तातोपानी कुण्ड र एभरेस्ट होटेल अन्नपूर्ण–६ ले रातोपानी तातोपानी कुण्ड सञ्चालनको अनुमति पाएको गाउँपालिकाले जनाएको छ । अग्रिम रूपमा रकम जम्मा गर्नेलाई कार्यविधि अनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको छ ।  

पर्यटकीय स्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुका साथै पालिकाको आन्तरिक आम्दानीसमेत वृद्धि गर्न आय ठेक्कामा लगाइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय स्थलमा प्रवेश शुल्क, कफी सप तथा रेस्टुराँ सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ । पुनहिलबाहेकका अन्य पर्यटकीय स्थलमा चालु आवको सुरुमै ठेक्का सम्झौता भएको थियो । चौथो पटकसम्म सूचना प्रकाशित गरेर पुनहिलको पनि सम्झौता गरेका छौँ ।” 

गाउँपालिकाले खोप्रालेक, मोहरेडाँडा, रुप्से छहरा, घोडेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटेल, रेस्टुरेन्ट तथा कफी सपबाटसमेत व्यवसाय कर सङ्कलन गरेर आन्तरिक आम्दानी गर्दै आएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्ड रहेको यस गाउँपालिकाको वडा नं ४, नारच्याङमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल पर्छ । 

गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा पर्यटकीय पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।