• २ कात्तिक २०८१, शुक्रबार

दुध नलिने भएपछि डिडिसीमा तालाबन्दी

blog

निजी फार्म तथा सङ्कलकले सङ्कलन गरेको दुध नलिने डिडिसीको निर्णयपछि बनेपा केन्द्रमा लगाइएको ताला । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, कात्तिक २ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फार्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फार्म सञ्चालकहरूले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् । 

आफूलाई कुनै जानकारी नै नदिई पाँच महिनासम्मको दुधको भुक्तानी नदिई दुध नलिने निर्णय गरेका कारण आफूहरूले बाध्य भएर डिडिसीमा तालाबन्दी गरेको निजी डेरी फार्म सञ्चालकहरूले जनाएका छन् । 

माता मनकामना दुग्ध डेरी तथा ढकाल गणेश भैँसी फार्मका सञ्चालक कुमार तिमल्सिनाले आफूले विगत २० वर्षदेखि डिडिसीमा दुध दिँदै आएको, पाँच महिनाको भुक्तानी पनि बाँकी रहेको तर आफूहरूलाई कुनै जानकारी नै नदिईकन कात्तिक १ बाट दुध नलिने निर्णय गरेका कारण आफूहरू आन्दोलनमा उत्रेको बताउनुभयो । उहाँले डिडिसीले भुक्तानी गर्नुपर्ने रकम अविलम्ब दिनुपर्ने र हाल निजी फार्महरूबाट सङ्कलन भई लिँदै आएको दुध लिनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । माग पूरा नभएसम्म डिडिसी बनेपा सङ्कलन केन्द्रमा लागेको ताला नखोल्ने चेतावनी उहाँले दिनुभयो । 

दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सूर्यप्रसाद पौडेलको अध्यक्षतामा असोज १५ गते बसेको उच्च व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्था तथा सरकारी फार्मबाट सङ्कलन भएको कच्चा दुध सङ्कलन गर्ने निर्णय गरेको थियो । 

बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भई प्राथमिक उत्पादक रहेका पशु फार्महरूबाट दुध सङ्कलन गर्नु परेको अवस्थामा आयोजनाले फार्मको निवेदन लिई निजको दर्ता प्रमाणपत्र राखी फार्मको साइज, उत्पादन परिमाण तथा संस्थानलाई उपलब्ध गराउने दुधको परिमाण यकिन गरी केन्द्रीय कार्यालयबाट स्वीकृति लिई मात्र दुध सङ्कलन गर्ने निर्णय गरेको थियो । त्यस्तै बैठकले निर्णय गरेको सहकारी संस्था, सरकारी फार्म तथा स्वीकृत प्राथमिक उत्पादक रहेका पशु फार्मबाहेक अन्यको दुध बुझेमा त्यसको भुक्तानी नहुने र सोको पूर्ण जिम्मेवारी आयोजना प्रमुख, सङ्कलन प्रमुख तथा चिस्यान केन्द्र प्रमुख रहने निर्णय गरेका कारण निजी फार्म तथा सङ्कलकबाट सङ्कलन भएको दुध नलिने निर्णय भएको डिडिसीले जनाएको छ । 

दुग्ध विकास संस्थान बनेपा सङ्कलन केन्द्रका प्रमुख किशोर सिंहले संस्थानले निजी फार्म तथा सङ्कलकहरूले सङ्कलन गरेको दुध नलिने निर्णय गरेपछि निजी सङ्कलन केन्द्रमा तालाबन्दी गरेको बताउनुभयो । उहाँले बनेपा सङ्कलन केन्द्रमा धुलिखेल नगरपालिका–२ मा रहेका सेतीदेवी दुग्ध सहकारी संस्था र देउराली दुग्ध उत्पादक सहकारीबाट दैनिक चार हजार पाँच सय लिटर र अन्य नौ वटा निजी फार्म तथा सङ्कलनहरूबाट चार हजार पाँच सय लिटर दुध सङ्कलन हुँदै आएको बताउनुभयो । उहाँले विविध कारणले संस्थानले विगत पाँच महिनादेखिको दुधको भुक्तानी गर्न नसकेको बताउनुभयो । उहाँले तालबन्दीमा उत्रिएका निजी फार्म तथा दुग्ध सङ्कलनहरूको मागका विषयमा छलफल गर्न शुक्रबारका लागि केन्द्रीय कार्यालयमा समय मिलाइएको बताउनुभयो ।