• १ कात्तिक २०८१, बिहिबार

लोक सेवाले शाखा अधिकृतको दरखास्त आह्वान गर्दै

blog

काठमाडौं, कात्तिक १ गते । लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ ।

आयोगले असोजको अन्तिम साता  एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी छ सय ६० जनाको दरखास्त खुला गरेको छ ।

आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले अब तत्कालै शाखा अधिकृत (प्राविधिक) पदका लागि दरखास्त खुल्ने जानकारी दिनुभयो ।

प्रवक्ता होमेगाईले भन्नुभयो, “तत्कालै खुल्ने कार्यतालिका छ । यो महिनाबाट विज्ञापन सुरु भयो, अहिले सहसचिव र उपसचिवस्तरको विज्ञापन गरेका छौं । उपसचिव ५१० र सहसचिव १५० पद गरी ६६० रिक्त पदका लागि हामीले विज्ञापन गरेका छौं ।”

उहाँले आयोगको वार्षिक कार्यतालिका अनुसार चैत महिनासम्म विज्ञापन खुल्दै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिकको अन्तिम बुधबार हामी शाखा अधिकृत (प्राविधिक), मंसिर महिनाको अन्तिम बुधबार शाखा अधिकृत र सो सरहको प्राविधिक पदहरुको विज्ञापन गर्छौं । यसैगरी, प्रत्येक महिना हुँदै जाँदा चैतसम्म विज्ञापन गर्छौं ।”

उहाँले सङ्घीय आयोगबाट सङ्घीयस्तरको कार्यालयहरुमा पदपूर्ति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घमा सङ्घीय लोक सेवा आयोग हाम्रो छ । सात प्रदेशमा सातवटा लोक सेवा आयोगहरु छन् । हामीले सङ्घीयस्तरको कार्यालयहरुमा पदपूर्ति गर्छौं । सम्बन्धित प्रदेशको जिल्लाभरीको रिक्त दरबन्दी सोही प्रदेशले पदपूर्ति गर्ने व्यवस्था छ ।”

उहाँका अनुसार पद दरखास्त खुल्ने पूर्वतालिका रहे पनि कतिको सङ्ख्यामा खुल्ने भन्ने जानकारी विज्ञापन प्राप्त भएपछि मात्र थाहा हुनेछ ।

उहाँले भन्नुभयो, “हाम्रो कुन तह, कुन श्रेणी, कुन पदको विज्ञापन कुन महिनामा माग सङ्कलन गर्ने ? कुन महिनामा प्रतिशत निर्धारण गर्ने अनि कहिले विज्ञापन प्रकाशन गर्ने ? कहिले लिखित परीक्षा सञ्चालन गर्ने ? कहिले अन्तर्वार्ता लिने ? कहिले सिफारिस गर्नेसम्मका कुराहरु हाम्रो वार्षिक क्यालेण्डरमा समेटिएको हुन्छ । सम्बन्धित कार्यालयले माग गरेपछि कति चाहिने भन्ने कुरो यकिन हुन्छ । कति जनाको पद विज्ञापन गर्ने भन्ने कुरा हामीसित हिसाब हुँदैन ।”

यो पनि पढ्नुहोस

खुल्यो ६६० पदमा आवेदन