• १ कात्तिक २०८१, बिहिबार

खुल्यो ६६० पदमा आवेदन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ,कात्तिक १  गते । लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ । बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो ।  आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिनुभयो । 

निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदमा आवदेन खुला गरेको हो । २०८१ मङ्सिर ४ गतेसम्म दरखास्त दिन सूचनामार्फत सूचित गरिएको छ । कर्मचारी समायोजन ऐन २०७५ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी समायोजन हुनुपूर्व वाहल रहेको सेवा÷समूह÷ उपसमूहको एक श्रेणी वा माथिको पदमा बढुवाका लागि सम्भाव्य उमेदवार हुन सक्ने सूचनामा उल्लेख गरिएको छ । आयोगले हरेक वर्ष असोजको अन्तिम साता सहसचिव र उपसचिवको विज्ञापन खुला गर्दै आएको छ ।