• २९ फागुन २०८२, शुक्रबार

सेवाग्राहीका लागि विश्रामस्थल निर्माण

blog

जिल्ला प्रशासन कार्यालय मकवानपुरभित्र सेवाग्राहीका लागि निर्माण गरिएको विश्रामस्थल ।

अनिल पराजुली

हेटौँडा, फागुन २९ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवा लिन आउने सेवाग्राहीका लागि विश्रामस्थल निर्माण गरिएको छ । नेपालीपन, राष्ट्र र राष्ट्रियतालाई झल्काउने गरी प्रशासन कार्यालय परिसरभित्र निर्माण गरिएको उक्त विश्राम स्थललाई ‘सुशासन पार्क’ नामाकरण गरिएको छ ।

कुनै समय प्रशासन कार्यालयभित्र फोटो तथा भिडियो खिच्नसमेत मनाही गरिने अवस्था रहे पनि अहिले सेवाग्राहीलाई विश्राम गर्ने स्थानको व्यवस्था गरिएको छ । पार्कमा चार वटा फलामे कुर्सी, भुइँमा हरियो प्लास्टिकको दुबो, फूलसहितका गमला राखिएको छ । साथै भित्तामा नेपालको नक्सा, राष्ट्रिय गान, निसान छाप र राष्ट्रिय झण्डा राखेर सजावट गरिएको छ ।

सरकारले पारदर्शिता, जवाफदेहिता, सहभागिता, कानुनी शासन, प्रभावकारिता र समानताजस्ता सिद्धान्तमा आधारित असल शासनको अवधारणा कार्यान्वयन गर्ने प्रयासस्वरूप यो सानो पहल गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो । सुशासन अर्थात् ‘गुड गभर्नेन्स’ अन्तर्गत राज्यले नागरिकलाई प्रदान गर्ने सेवा सुलभ, पारदर्शी र प्रभावकारी हुनुपर्ने धारणा अनुरूप काम गरिएको उहाँको भनाइ छ ।

सरकारी कार्यालयलाई सेवाग्राहीमैत्री बनाउनका लागि सेवा प्रवाहमा क्रमशः सुधार गर्दै लगिएको उहाँले बताउनुभयो । केही संस्थाको सहयोगमा सेवाग्राहीका लागि मनमोहक विश्राम स्थल निर्माण गरिएको उल्लेख गर्दै उहाँले सबै सरकारी कार्यालयले सरसफाइमा ध्यान दिँदै सेवाग्राहीमैत्री सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विभिन्न शाखाबाट प्रदान गरिने झन्झटिला प्रक्रियालाई हटाएर छिटोछरितो सेवा प्रवाहमा ध्यान केन्द्रित गरिएको पनि स्पष्ट पार्नुभयो । चैत ५ गते बस्ने कार्यालय प्रमुखहरूको बैठकमार्फत जिल्लाका सबै कार्यालय प्रमुखलाई सेवा प्रवाहमा सुधार गर्न आग्रह गरिने उहाँले जानकारी दिनुभयो । कर्मचारीले सदाचार, नैतिकता र सेवाग्राहीमैत्री व्यवहारका साथ सेवा प्रवाहमा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट मासिक १२ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन् । यहाँबाट नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्र तथा संघसंस्थासम्बन्धी सिफारिस लगायतका सेवा लिन दैनिक सेवाग्राही आउने गर्नुभएको छ ।