• १ कात्तिक २०८१, बिहिबार

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ सय नाघ्यो

blog

अनिल पराजुली
हेटौँडा, कात्तिक १ गते ।
मकवानपुरमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जिल्लामा एक हजार १५३ जनामा डेंगु पुष्टि भएको हो । गत आर्थिक वर्षमा जिल्लामा ८९१ जनामा डेंगु भएकोमा चालु आवको तीन महिनामा डेंगु सङ्क्रमण ह्वातै बढेको तथ्याङ्क छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ५९२ पुरुष र ५६१ जना महिलामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ ४६७ पुरुष र ४६९ महिलागरी ९३६ जनामा डेंगुु सङ्क्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै मनहरी गाउँपालिकामा ६९ जना, मकवानपुरगढी गाउँपालिकामा ३३, भीमफेदी गाउँपालिकामा १७ जना, बकैया गाउँपालिकामा १५, थाहा नगरपालिकामा ११, कैलाशमा ७, बागमती र राक्सिराङ गाउँपालिकामा दुई–दुईजनामा डेंगु पुष्टि भएको हो । अन्य जिल्लाका २४ जना र ठेगाना नखुलेको ३७ जनामा डेंगु पुष्टि भइसकेको छ ।  जिल्लाको इन्द्र सरोवरमा डेंगु सङ्क्रमितको सङ्ख्या शून्य छ ।

त्यस्तै जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ३३८ पुगेको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा महिनामा २२० महिला र ११८ पुरुष स्क्रब टाइफसबाट प्रभावित बनेका हुन् ।

हेटौँडा उपमहानगरपालिकामा २०७, मकवानपुरगढीमा ४८, मनहरीमा २३, बकैयामा २० जना र भीमफेदीमा १७ जना, राक्सिराङमा चार जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ । त्यस्तै बागमतीमा तीन जना, कैलाशमा २, इन्द्रसरोवरमा एकजना प्रभावित हुनुभएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अन्य जिल्लाका नौ र ठेगाना नखुलेका चार जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायः  झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ ।