• ३० असोज २०८१, बुधबार

प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह

blog

प्रहरी दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ३० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी थपिएको बताउनुभएको छ । 

६९ औं प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आज आयोजना गरेको समारोहमा उहाँले सङ्घीयतामा प्रहरीको जिम्मेबारी बढेको बताउनुभएको हो । सीमित स्रोत, साधनका बावजुद प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको मुख्यमन्त्रीको भनाइ छ । 

“कानुनले दिएको जिम्मेवारी प्रहरीले सौहार्दतापूर्वक निर्वाह गरिरहेको छ”, उहाँले भन्नुभयो, “कानुन कार्यान्वयनको क्रममा प्रहरी अविचिलित रुपमा अगाडि बढ्दै छ ।” शान्ति, सुरक्षा, अमनचयन कायमदेखि लिएर विपत्मा परेकाहरुको खोज, उद्धारमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेको मुख्यमन्त्री शाहको भनाइ छ । 

सङ्घीय सरकारले कतिपय ऐन, कानुन नबनाउँदा प्रदेशले समस्या भोगिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रहरी समायोजन हुन्छ वा हुन्न, त्यो विषयमा सङ्घ सरकारले जवाफ दिनुपर्ने औंल्याउनुभयो । प्रहरी समायोजन हुन्छ भने सङ्घ सरकारले चाँडै प्रक्रिया अगाडि बढाउनुपर्ने र समायोजन हुँदैन भने विकल्प खोज्नुपर्ने मुख्यमन्त्री शाहको जिकिर छ ।  

उहाँले न्यायका लागि जनता सबैभन्दा पहिले प्रहरीसमक्ष पुग्ने गरेको भन्दै थप्नुभयो, “प्रहरीले आफ्नो कर्तव्य र दायित्व भुल्नुहुँदैन ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक श्यामकृष्ण अधिकारीले नेपाल प्रहरीलाई प्रदेश सरकारबाट धेरै सहयोग भइरहेको भन्दै आभार व्यक्त गर्नुभयो । 

दिवसको अवसरमा इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा, ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक गङ्गाबहादुर सारु, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दयालबहादुर साउद, गङ्गाबहादुर थापालाई पुरस्कृत गरिएको छ । 

यसैगरी, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, राजेन्द्र विष्ट, देवराज कामी, नरेन्द्रबहादुर बम, प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकाया पनि पुरस्कृत हुनुभएको छ ।