• ३० असोज २०८१, बुधबार

बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध

blog

बन्दीपुर–६ नाल्दीमा खसेको पहिरो ।

अमरराज नहर्की

तनहुँ, असोज २९ गते । पहिरोले अवरुद्ध बनेको बुद्धसिंह मार्ग लामो समयसम्म पनि सुचारु नहुँदा यात्रु मर्का परेका छन् । २० दिन अघि देखि पूर्ण रूपमा अवरुद्ध भए पनि सुचारु गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

पहिरोले गर्दा पृथ्वी राजमार्गको वैकल्पिक रूपमा रहको यस मार्ग असोज १० गते देखि अवरुद्ध भएको हो । असोज १०, ११ र १२ गतेसम्म गरी तीन दिन परेको वर्षाले उक्त सडकको दर्जनौँ स्थानमा साना ठुला पहिरो गएका छन् । अधिकांश स्थानको पहिरो पूर्वाधार विकास कार्यालय र बन्दीपुर तथा आँबुखैरेनी गाउँपालिकाले हटाए पनि बन्दिपुर गाउँपालिका–६ स्थित नाल्दीघाटको पहिरोले सडक अवरुद्ध नै छ । 

उक्त सडकको व्यास नपाको बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघर लगायतका स्थानमा सडक अवरोध भएको थियो । ती मध्ये नाल्दीको बाहेक अन्य पहिरो हटाइएको बुद्धसिंह मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले बताउनुभयो । नाल्दीको पहिरो हटाउन पटक पटक माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । 

पूर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरो हटाउन नसकिएको बताएको थापाले बताउनुभयो । थापाका अनुसार नाल्दीको पहिरोले गर्दा यातायात सञ्चालन नहुँदा बन्दिपुर गाउँपालिकाको-६, आबुँखैरेनी गाउँपालिका-५, देवघाट गाउँपालिका-३ र ४ का जनतालाई आउजाउमा समस्या भएको छ । 

त्यसबाहेक बुद्धसिंह मार्ग हुँदै मोटरसाइकलमा उक्त सडक हुँदै चितवन जाने आउने यात्रुहरू पनि मारमा परेका छन् । यसै मार्गमा पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेघाटको पक्की पुल १० वर्ष नै निर्माण सुरु गरिएको भए पनि निर्माण अझै पुरा भएको छैन । 

समयमा नै पुल निर्माण पुरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दुरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको र हालसम्म करिब ४० प्रतिशत मात्रै काम पुरा भएको आँबुखैरेनी गाउँपालिका-५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुलको कामले गति लिन नसकेको सम्बन्धित निकायमा पनि पटक-पटक ध्यानाकर्षण गराइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ । घुमाउनेघाटमा पुल बन्दा नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरी भन्दा ३० किलोमिटर छोटो हुने भएकोले इन्धन आयातमा धेरै रकम जोगाउन सकिने अध्यक्ष चुमानले बताउनुभयो  । 

उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन तर पुल निर्माण स्थानीय सास्ती भोग्नु परेको छ ।