• २८ असोज २०८१, सोमबार

मेची राजमार्ग खुलेसँगै पाथीभरामा तीर्थयात्री वृद्धि

blog

ताप्लेजुङस्थित पाथीभराको दर्शन गर्दै दर्शनार्थी । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २८ गते। अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग खुलेसँगै ताप्लेजुङस्थित पाथीभरामा तीर्थयात्री आउनेक्रम बढेको छ। 

दर्शन गर्ने मुख्य समय दसैँको नवरात्रिभर सुनसान बनेको पाथीभरामा सडक अवरोध खुलेसँगै तीर्थयात्री आउने क्रम सुरु भएको हो।

वर्षासँगै आएको बाढीले पाँचथरको हेवाखोलामा रहेको बेलिब्रिज बगाउनुका साथै पाँचथर र इलामको विभिन्न खण्डमा पहिरो जाँदा गत असोज १२ गतेदेखि राजमार्ग अवरुद्ध बनेको थियो। बाढी र पहिरोले मेची राजमार्ग अवरुद्ध बनेपछि यातायातका साधन चल्न नपाउँदा तीर्थयात्रीसहितका यात्रुले यात्रा गर्न पाएका थिएनन्।

हेवाखोलामा ह्युमपाइप बिच्छ्याएर डाइभर्सन निर्माण गरेपछि साथै विभिन्न ठाउँमा झरेको पहिरो पन्साएर एकतर्फी सवारी साधन चलाउन मिल्नेगरी केही दिन अघिदेखि मेची राजमार्ग सञ्चालनमा आएको हो। राजमार्ग सञ्चालमा आएसँगै पाथीभरामा तीर्थयात्रीको आउजाउ सुरु भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

समितिका अनुसार सडक अवरुद्ध कायम रहँदासम्म अर्थात नवरात्रिको अवधिमा दैनिक एक सयभन्दा न्युन तीर्थयात्रीले पाथीभराको दर्शन गरेका थिए। सडक अवरुद्ध खुलेपछि क्रमशः तीर्थयात्रीको सङ्ख्या बढ्दै गएसँगै सोमबार चार  सय २७ जनाले पाथीभराको दर्शन गरेका समितिका सूचना प्रविधि प्रमुख सन्तोष पुर्कुटीले जानकारी दिनुभयो। 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार सडक अवरुद्ध भएको समयमा स्थानीय तीर्थयात्रीले मात्र पाथीभराको दर्शन गरेका थिए। मेची राजमार्ग खुलेपछि भने बाहिरका जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरा तीर्थयात्री आउन थालेको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो। 

दसैँ–तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य मौसम भएकाले तीर्थयात्री आउजाउ गर्ने क्रम अझ बढ्दै जाने समितिले जनाएको छ। विगतका वर्षमा यो मौसममा दैनिक हजारौं तीर्थयात्रीले पाथीभराको दर्शन गर्ने गरेका थिए। यसवर्ष मुख्य समय सुरु भएपछि मेची राजमार्ग अवरुद्ध भएकाले तीर्थयात्रीले पाथीभरा दर्शनमा आउन पाएका थिएनन् भने तीर्थयात्री नआउँदा सदरमुकाम फुङ्लिङ बजारसहित यहाँका होटल व्यवसाय ठप्पजस्तै भएका थिए।