• २८ असोज २०८१, सोमबार

तनहुँमा डेंगु बढ्दो

blog

दमौली अस्पतालमा भर्ना हुन आएका बिरामी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २७ गते । तनहुँमा डेंगु फैलिँदा बडादसैँको रौनकता बढ्न सकेको छैन । विशेष गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्र र सदरमुकाम दमौलीमा घरैपिच्छेका मानिस बिरामी हुँदा चाडपर्वको समयमा आफन्त, इष्टमित्रमा खुसी छाउन नसकेको हो ।

चालु आर्थिक वर्षको हाल सम्ममा तीन हजार छ सय ६८ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेंगु सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्पतालमा बिरामीको भीड लागेको छ । अधिकारीका अनुसार व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको एक महिना अघि डेंगुको सङ्क्रमणबाट मृत्यु भएको थियो ।

अधिकारी अनुसार सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा एक हजार पाँच सय ६१ जनामा सङ्क्रमण भएको छ । व्यास नगरपालिकामा एक हजार तीन सय ५०, शुक्लागण्डकी नगरपालिकामा चार सय २१ जनामा, बन्दीपुर गाउँपालिकामा एक सय ३७ जना र भिमाद नगरपालिकामा ३७ जनामा सङ्क्रमण भएको छ । 

यस्तै, भानु नगरपालिकामा ४०, म्याग्दे गाउँपालिकामा ४२ जनामा सङ्क्रमण भएको छ । ऋषिङ गाउँपालिका चार देवघाट गाउँपालिकामा ५३ र घिरिङ गाउँपालिकामा चार जनामा डेंगु सङ्क्रमण भएको छ । त्यस्तै अन्य जिल्ला घर भई हाल तनहुँमा बस्ने १९ जनामा डेङ्गुको सङ्क्रमण भएको छ ।

डेंगुको तीव्र रूपमा फैलिँदै गाएकोले चाडपर्वको समयमा समेत भर्ना गर्ने बिरामी आइरहेको दमौली अस्पतालका सिनियर अहेब दिनेश पण्डितले बताउनुभयो ।  दैनिक चार सय जना बिरामी अस्पतालमा भर्ना हुन आउने गरेकोमा सबैभन्दा धेरै डेंगुको आउने गरेको पण्डितले बताउनुभयो । डेंगुको सङ्क्रमण एडिज जातिको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा। परिवर्तन बरालले जानकारी दिनुभयो । जिल्लामा रोग फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणको लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँहरू ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी तनहुँ डेंगु रोगको रोकथाम तथा न्यूनीकरण अभियानमा सञ्चालन गरेको छ । रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल मार्फत लामखुट्टेको बास स्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको काम भइरहेको नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य तथा तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले बताउनुभयो ।