• ३० असोज २०८१, बुधबार

फुटबल प्रतियोगिताको उपाधि नवदुर्गा युवा क्लबलाई

blog

एक लाख राशिको पुरस्कारसहित उपाधि बिजेता टोली । तस्बिर : राज खान

सिराज खान

नेपालगन्ज, असोज २७ गते । दसैँको अवसरमा बाँकेको डुडुवामा हरेक वर्ष सञ्चालन गरिँदैआएको एक लाख रुपियाँ पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिताको उपाधि यस वर्ष आयोजक नवदुर्गा युवा क्लबले हात पारेको छ ।

सो प्रतियोगिताको फाइनल खेलमा आयोजक नवदुर्गाले लालीगुराँस युवा क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । नवदुर्गाले लालीगुराँसलाई ११–२ ले पराजित गरेको छ ।

पहिलो हाफसम्म ७ गोलको अग्रता लिएको नवदुर्गाले दोस्रो हाफमा थप ५ गोल गर्दै लालीगुराँसलाई भारी गोलअन्तरले पराजित गरेको नवदुर्गा युवा क्लबकाका अध्यक्ष निर्मल चन्दले बताउनुभयो । 

उपाधिसँगै बिजेता नवदुर्गाले एक लाख ११ हजार १११ रुपियाँ नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको लालीगुराँसले ५५ हजार ५५५ रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा आयोजक टिमका दिपकराज सिंह सर्वोत्कृष्ट खेलाडी र प्रकाश थारु उत्कृष्ट गोलरक्षक बन्नुभएको छ । उहाँहरुलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गरिएको छ ।

उपाधि बिजेता, उपबिजेता लगायत उत्कृष्ट खेलाडीहरुलाई डुडुवा गाउँपालिका वडा ५ का वडा अध्यक्ष झंकबहादुर थापा, स्थानीय सूर्यलाल यादव, समाजसेवी बेलबहादुर बोहरा, नवदुर्गाका अध्यक्ष निर्मल चन्दलगायतले पुरस्कार, मेडल र प्रमाणपत्र बितरण गर्नुभयो । 

बिजयादशमी तथा शुभ दिपावलीको अवसरमा गत १४ वर्षदेखि क्लबले सो फुटबल प्रतियोगिता आयोजना गर्दैआएको जनाएको छ ।