• २७ असोज २०८१, आइतबार

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

लमजुङ,  असोज २६ गते । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ। 

क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा शनिबार टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सिर्जनालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो। 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि  गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गर्नुभयो। गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उहाँले बताउनुभयो। 

गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको उहाँले स्मरण गर्नुभयो।

‘घरघरमा बिजुली, एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले लमजुङको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले जनचाहना अनुरुप काम गर्ने दृढता दोहो¥याउनुभयो। 

स्थानीयले सडक कालोपत्र गर्ने तथा बिजुलीका नाङ्गा तार ‘इन्सुलेटर’युक्त बनाउन गरेका मागप्रति सञ्चारमन्त्री गुरुङले सकारात्मक जवाफ दिनुभएको थियो। 

टक्सार आमा समूहका सदस्य तथा वडासदस्य शासदेवी गुरुङ, टक्सार बाबा समूहका पूर्वअध्यक्ष उमरबहादुर गुरुङलगायत वक्ताले गाउँका समस्याबारे जानकारी गराउनुभएको थियो।  रासस