• ३० असोज २०८१, बुधबार

दसैँमा कार्कीका तीन गीत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २५ गते । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेख्नुभएको ‘फूलको बास्ना सरी’, ‘दसैँ रमाइलो’, ‘आयो दसैँतिहार’ सार्वजनिक भएको छ ।  प्रहरीको पीडा र भावना दर्साइएको ‘फूलको बास्ना’ मा दीपक शर्माले सङ्गीत दिनुभएको छ । गीतमा गायक राजेशपायल राईसहित मेलिना राई, बेनिशा पौडेल र समीर खरेलको स्वर रहेको छ । गीतको भिडियोमा रमेश उप्रेती, प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिशा हमालले प्रहरीको भूमिकामा अभिनय गर्नुभएको छ । गीत गम्भीर विष्टले निर्देशन गर्नुभएको हो ।

‘दसैँ रमाइलो’ मा दसैँ आउने समय र दसैँ आउँदा कस्तो अनुभूति हुन्छ भन्ने खुलाइएको छ । दसैँ आउँदा गाउँघरमा कति रमाइलो हुन्छ र सबै परिवार एकसाथ भेट्दा कस्तो हुन्छ भन्ने कुरा पनि गीतमा पाइन्छ । बाल्यकालमा कसरी दसैँ मनाइएको हो भन्ने जस्ता सम्झनाका कुरा पनि गीतमा देखाइएको छ । गीतमा सरोज ओली, प्रियङ्का कार्की, दीपाश्री निरौलाको अभिनय छ भने सङ्गीत दीपक शर्मा, आवाज राजेशपायल राई र मेलिना राईले दिनुभएको छ ।   

वैदेशिक रोजगारी, यसबाट सिर्जित पारिवारिक–सामाजिक विषयवस्तु, परदेसिएका मानिसले परिवारसँग बसेर चाडपर्व मनाउन नपाउँदा पोखिएका कथाव्यथा अनि परदेसिएका आफन्तको पर्खाइमा भोगेका वेदनालाई ‘आयो दसैँतिहार’ गीतमा देखाइएको छ । गीतमा समीर खरेल, मनीषा राई र दीपा तामाङले आवाज दिनुभएको छ । खरेल आफैँले सङ्गीत भर्नुभएको छ ।