• १० मंसिर २०८१, सोमबार

रणनीतिक सडक निर्माणमा ढिलाइ

blog

पाल्पा क्षेत्र नं. २ को निर्माणाधीन रणनीतिक सडक ।तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता 

तानसेन, असोज २४ गते  । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको काम सुस्त बनेको छ । तीन वर्षअघिदेखि सुरु गरिएको निर्वाचन क्षेत्र रणनीतिक सडकको काम बजेट अभावले ढिलाइ भएको हो । 

पाल्पा जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत छानिएका दुई वटा सडकको काममा ढिलाइ भएको हो । जिल्लाको क्षेत्र नं. १ मा रणनीतिक सडकका रूपमा रहेको केलादी–पन्थे–सहलकोट–झिरुबास–झ्यालबास सडकको काम दुई वर्षको अवधिमा १५ प्रतिशत सकिएको छ । यसको निर्माण सम्पन्न गर्ने अवधि २०८२ भदौ १५ गतेभित्र सकिने छ । सात किलोमिटर सडक निर्माण गर्न २५ करोड ४४ लाखमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

जिल्लाको पूर्वी भेग रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको अधिकांश भूभाग छुने गरी यो सडक निर्माण सुरु गरिएको थियो । ३० महिनाभित्र रणनीतिक सडक सक्ने गरी योजना भने पनि बजेट अभावका कारण समयमै सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताउनुभयो । गत वर्ष एक करोड रुपियाँ मात्र सडक निर्माणका लागि बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षका लागि भने तीन करोड ६० लाख रुपियाँ बजेट विनियोजन भएको गौतमले जानकारी दिनुभयो । 

यस्तै पाल्पा क्षेत्र नं. २ मा निर्वाचन रणनीतिक सडकका रूपमा डिलबहादुर मार्ग अम्लेहान–तीनपिप्ले–आरुखर्क–दमकडा– आर्यभन्ज्याङ सडकको काम छ प्रतिशत मात्र सकिएको छ । साढे आठ किलोमिटर सडक निर्माणका लागि २५ करोड ९७ लाखमा ठेक्का सम्झौता भए पनि रकम अभावले काम समयमै सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर प्रताप माकले जानकारी दिनुभयो । 

माकका निर्माण व्यवसायीले काम गरेर भुक्तानी दिन नसकेको अवस्थामा दुई वटा रणनीतिक सडकको काममा ढिलाइ भएको छ । गत वर्ष एक करोड रुपियाँ विनियोजन भएकोमा ५० लाख रुपियाँको मात्र काम भएको छ । चालु आवमा यो सडकका लागि तीन करोड ६० लाख रुपियाँ बजेट विनियोजन भएको छ । यो सडक बनेपछि दुई पालिकाका बासिन्दाले लाभ लिने छन् ।