• २४ असोज २०८१, बिहिबार

दुई महिनामा सात अर्ब चवन्न करोड रुपियाँको विद्युत् निर्यात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २४ गते  । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपियाँ विद्युत् निर्यात गरेको छ । भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ । 

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपियाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसत दर आठ रुपियाँ ११ पैसा थियो भने भदौमा छ रुपियाँ ६२ पैसा रहेको थियो । 

भदौ तेस्रो सातामा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपियाँ विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्तामा ६९ करोड आठ लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपियाँ (भारु) मा हुने गरेको छ । त्यसैले चालु आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारतीय रुपियाँ बराबरको विद्युत् बिक्री भएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताउनुभयो । “चालु आवमा करिब ३० अर्ब रुपियाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौँ, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु-याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,” उहाँले बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । 

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीपहिरोभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरोका कारण सञ्चालनमा रहेको सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ । 

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपियाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब छ करोड रुपियाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपियाँको बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।