• २४ असोज २०८१, बिहिबार

दशैं बिदामा पनि प्रेस काउन्सिलको नियमन

blog

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत

काठमाडौं, असोज २३ गते । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनुवाइ हुने जानकारी गराएको हो ।

सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।

नेपाली मिडियाको नियमनकारी निकाय काउन्सिलले बडा दशैँ, तिहार, छठलगायतका राष्ट्रिय पर्वहरु र नेपाल संवत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चार माध्यम, सञ्चाकर्मी, आम पत्रकार, सबै नागरिकप्रति शुभकामना समेत प्रदान गरेको छ ।

चाडपर्वहरुले राष्ट्रिय एकता, भ्रातृत्व र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुराउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम् भूमिका हुने काउन्सिलले जनाएको छ ।

चाडपर्वका समयमा पनि सदाझैँ सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको

उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना÷अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने,

हिंसा एवं आतङ्कलाई प्रश्रय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले विदाको अवधिमा समेत नियमनको काम जारी राख्ने निर्णय गरेको बताउनुभयो ।

काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित, वैयक्तिक गोपनीयता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न÷नगराउन सञ्चारकर्मी, आम पत्रकार एवं सञ्चार माध्यमअन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई आग्रहसमेत गरेको छ ।