• २३ असोज २०८१, बुधबार

महोत्तरीमा डकैतीका घटना बढे

blog

डाँकाको आक्रमणमा परी घाइते भएका एक स्थानीय ।

नगेन्द्रकुमार कर्ण 

महोत्तरी, असोज २४ गते । महोत्तरीमा चाडपर्व आगमनसँगै चोरी तथा डकैतीका घटना बढेको छ । एक दिनअघि मात्र जिल्लाको सम्सीमा डकैतीको घटना घटेको थियो ।  मङ्गलबार राति ओैरहीमा लुटपाटसँगै एक जनालाई घाइते बनाएका छन् ।  

राति औरही नगरपालिका –१ बस्ने केवल साहको घरमा डाँकाहरुको एक समूहले लुटपाट गरेको छ । डाँकाहरुको प्रतिकार गरेका घरका सदस्यलाई कुटपिट गरेको पीडितको भनाइ छ । 

मध्यरातमा आधा दर्जनको सङ्ख्यामा प्रवेश गरेका डाँकाको समुहले घरबाट नगद, सुन चाँदीका गरगहना समेतगरी ५ लाख ९२ हजार ६ सय बराबरको धनमाल लुटेर लगेको पीडितले जनाएका छन् ।

डाँकाहरुको प्रतिकारमा उत्रेका घरका सदस्य रञ्जित साहलाई उनीहरुले रड प्रहार गरी घाइते बनाएका छन् । अहिले घाइतेको उपचार औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा भइरहेको र उहाँको टाउकोमा आठ टाँका लागेको स्थानीय युवा प्रेमबाबु यदुवंशीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले घटनाको पुष्टी गर्नुहुदै थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । डकैती घटनामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले विगतमा साहको मिलमा काम गर्ने औरहीकै अस्लम अंसारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।  

गत शनिबार महोत्तरीको सम्सी गाउपालिका –६ निवासी ६० वर्षीय शेषहाजी जहुरको घरमा लुटपाटसँगै प्रतिकारमा उत्रेका दुई जनालाई डाँकाहरुले घाइते बनाएका थिए । १० जनाको समूहमा आएका अज्ञात नकाबधारीले जहुरसँगै उहाँका छोरा २५ वर्षीय अतहर जहुरलाई घाइते बनाएका थिए ।