• १२ पुस २०८१, शुक्रबार

पत्रकारले बनाइदिए दृष्टिविहीनको घर

blog

सहयोग जुटाएर निर्माण गरिएको बाँकेको खजुरा –६ का दृष्टिविहीन जयबहादुर विक परिवारको नयाँ घर । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज २३ गते । बाँकेको खजुरा गाउँपालिका वडा ६ का दृष्टिविहीन जयबहादुर विकको घर वर्षामा भत्किएपछि पत्रकारले सहयोग जुटाएर बनाएका छन् । 

खजुराका सञ्चारकर्मी खगेन्द्र दाहालको समन्वयमा घर निर्माण गरिएको हो । त्यसैगरी समाजसेवी लिलबहादुर थापाको सहयोगमा एक वर्षका लागि पुग्ने खाद्यान्न र लत्ताकपडा सहयोग गर्नुभएको छ । 

दसैंअघि विक परिवारलाई नयाँ घर उपहारस्वरुप दिन सफल पत्रकार दाहाल मानवीय नाताले सबैको साथ र सहयोगमा दृष्टिविहीन परिवारको घर निर्माण गर्न सकिएको बताउनुभयो ।

दाहालले भन्नुभयो, ‘कसैले नगद त कसैले घर निर्माणका लागि आवश्यक सामान दिएर सहयोग गर्नुभयो, दुई महिनामै नयाँ घर बनाएर हस्तान्तरण गर्न सक्यौं ।’ दृष्टिविहीन विकका साथमा श्रीमती र २ नाबालक छोरा रहनुभएको छ । 

कच्ची घर भत्केको दुई महिनामा नयाँ घर पाएपछि विक परिवारमा खुशी छाएको छ । उहाँले आफ्नो घर निर्माणका लागि अभियान चलाएर दिनरात खट्ने पत्रकारहरु दाहाल, गणेश राईसहित सहयोगी सबैप्रति आभार प्रकट गर्नुभएको छ ।  विकले भन्नुभयो, ‘पहिले कच्ची घर हुँदा सानो वर्षा भए पनि डर लाग्थ्यो, अब नयाँ घर पाएपछि ढुक्कसँग निदाउन सक्ने भयौं ।