• १० मंसिर २०८१, सोमबार

हुलाक दिवसको अवसरमा प्रभातफेरी

blog

हुलाक दिवसका अवसरमा बेनीमा निकालिएको प्रभातफेरी । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज २३ गते । एकसय ५० औं विश्व हुलाक दिवसका अवसरमा बुधबार बिहान बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा बेनीको वीरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड, क्याम्पसचोक, सङ्गमचोक हुँदै बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

नेवारी समुदायको मौलिक बाजासहित गरिएको प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, हुलाकका कर्मचारी, पत्रकारलगायत सुरक्षाकर्मीको सहभागिता थियो । 

दिवसका अवसरमा जिल्ला हुलाक कार्यालयले दुईजना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कार्यालयमा खरिदार पदमा कार्यरत सम्झना भण्डारी बानियाँ र हल्कारा सुनीता श्रेष्ठलाई प्रजिअ ढकाल र हुलाक कार्यालयका प्रमुख रमेश अधिकारीले प्रमाणपत्रले सम्मान गुर्नभयो ।  

आधुनिक सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि परिस्कृत, विश्वसनीय र भरपर्दो बनाउँदै लैजानुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्दै जानुपर्ने उहाँको भनाइ छ । 

विश्वभरका मानिसबिच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍यfउने उद्देश्यले विश्व हुलाक सङ्घको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त सङ्घको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको छ ।