• १२ पुस २०८१, शुक्रबार

ट्राफिक प्रहरीको सम्झाउँदै बुझाउँदै अभियान

blog

चालकलाई सम्झाउँदै ट्राफिक प्रहरी । तस्विरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असोज २३ गते । नवलपुर ट्राफिक प्रहरीले चोक चोकमा चालकलाई रोकेर सम्झाउँदै, बुझाउँदै दसैको शुभकामना दिएर पठाउने अभियान सुरु गरेको छ । 

नारायणघाट–बुटबल सडक खण्डमा अत्यधिक गतिमा सवारी साधन चलाउनेक्रम बढेपछि ट्राफिक प्रहरीले राडर गनमार्फत गति जाँच गरेर बढी गतिमा सवारीसाधन चलाउनेलाई सम्झाई बुझा छाड्ने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो । 

सुरुवाती चरणमा चालकलाई जानकारी दिने अभियान भएकाले कारवाही भने नगरिएको उहाँको भनाइ छ । कावासोतीमा मात्र राडर गनमार्फत गति जाँच गर्ने गरिएको र एक हप्ताको अवधिमा पाँच सयभन्दा बढीलाई सम्झाइ बुझाइ गरेर छाडिएको उहाँले जानकारी दिनुभयो । 

प्रहरीले सवारी साधन चलाउँदा आवश्यक कागजात साथैमा बोक्न, मोटरसाइकल चलाउँदा हेल्मेट राम्रोसँग बाध्न, मादक पदार्थ सेवन गरी गाडी नचलाउन, राम्रो बाटो देख्दैमा बढी गतिमा नचलाउन आग्रह गर्दै सवारी चालकलाई शुभकामना दिएर पठाउने गरेको छ । बन्जराका अनुसार हाल जिल्लाभरी ६१ जना ट्राफिक प्रहरी खटिएका छन् । 

नारायणघाट–बुटबल सडक खण्डमा प्रतिघण्टा एकसय ५० भन्दा बढी गाडी गुड्ने गरेको प्रहरी निरीक्षक बन्जराले जानकारी दिनुभयो । दसैँ तिहारको बेला भने यो सङ्ख्या थप बढ्ने गरेको छ । अरु बेला ट्रकको सङ्ख्या बढी हुने गरे पनि अहिले भने यात्रुवाहक गाडीको सङ्ख्या बढी हुने गरेको बन्जराले बताउनुभयो । 

बाटो विस्तारको काम नसकिएकाले प्रहरीले सडकमा भएका सिसिटिभीलाई पूर्ण प्रयोगमा ल्याउन नसकेको जनाएको छ । अहिले अन्य ठाउँका सिसिटिभी झिकेर गैँडाकोट र दुम्किबासमा मात्र प्रयोगमा राखिएको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो ।