• २३ असोज २०८१, बुधबार

धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २२ गते । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो । 

पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेको उहाँले उल्लेख गर्नुभयो । “पाँच जनाको मृत्यु भएको यकिन भएको छ, एक जनालाई क्याम्प एकबाट उद्धार गरेका छौं," शेर्पाले भन्नुभयो । 

अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको मृत्यु भएको हो । हेली एभरेष्टको हेलिकोप्टरबाट भालेरी सामालोलाई उद्धार गरी काठमाडौं लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो । चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झर्नुभएको थियो ।

यो पर्वतारोहीको टोली तीन हप्ताअघि धौलागिरीतर्फ गएको थियो । अब मृतकका परिवारका सदस्य र रसियाली दूतावासलाई खबर गरी शवहरु ल्याउने व्यवस्था गरिने आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक शेर्पाले जानकारी दिनुभयो ।