• ११ मंसिर २०८१, मङ्गलबार

पहिरोले बुद्धसिंह मार्ग अवरुद्ध

blog

अमरराज नहर्की

तनहुँ, असोज २२ गते । पहिरोले गर्दा पृथ्वी राजमार्गको वैकल्पिक बुद्धसिंह मार्ग अवरुद्ध भएको दश दिन भएकाे छ । असोज १०–१२ गतेको वर्षापछि उक्त सडकको दर्जनौं स्थानमा साना ठुला पहिरो गएकाले अवरुद्ध भएको हो । 

अधिकांश स्थानको पहिरो पूर्वाधार विकास कार्यालय र बन्दीपुर तथा आँबुखैरेनी गाउँपालिकाले त कतै पूर्वाधार विकास कार्यालयले हटाए पनि बन्दीपुर गाउँपालिका–६ स्थित नाल्दीघाटको पहिरो हटाउन नसक्दा अवरोध भएको हो ।  

पहिरोले व्यास नगरपालिका बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायतका स्थानमा सडक अवरोध भएको थियो । तीमध्ये नाल्दीको बाहेक अन्य पहिरो हटाइएको बुद्धसिंह मार्ग सरोकार समिति संयोजक सिद्धान्त गर्जा मगरले बताउनुभयो । नाल्दीको पहिरो हटाउन पटक पटक माग गरे पनि सुनुवाइ नहुँदा दशैंको समयमा समस्या परेको बताउनुभयो । पूर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरो हटाउन नसकिएको बताएको थापाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ । दमौलीदेखि सुडेसम्म करिब १० किमि खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माणकार्य अघि बढाइएको छ । 

पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित रु. ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयकी इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको उहाँले बताउनुभयो । 

सम्झौता अनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवेका साथै सडक कालोपत्रे गरिनेछ । चितवनको घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोर्‍याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिने जनाइएको छ । 

दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुईपाङ्ग्रे सवारी साधन आवतजावत गरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन् तर बस तथा अन्य सवारी साधन भने पुलको अभावमा तनहुँ क्षेत्रमै रोकिन गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे–आँबुखैरेनी–मुग्लिन हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिंह मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।