• ११ मंसिर २०८१, मङ्गलबार

बाढीले एक सय घरधुरी पूर्ण रूपमा क्षति

blog

असोज १२ गते आएको बाढीले क्षति पुर्‍याएका घर ।तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, असोज २२ गते । पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकामा असोज ११ र १२ गते आएको बाढीले एक सय घरधुरी र दुई विद्यालयमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । नारायणी नदी तटीय क्षेत्रमा रहेका वडा नं. २, ३, ४, ६, १२ र १५ मा बाढी र डुबानले ४३१ घरमा क्षति पुर्‍याएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । 

मध्यविन्दु वडा नं. २ को सेहरीमा ३१० घरधुरी मध्य, ७० घरधुरी पूर्ण रूपमा क्षति पुगेको वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । यसै गरी वडा नं. ६ का ६२ घरधुरीमध्ये  १८ घरधुरी र वडा नं. १५ को ५९ घरधुरीमध्ये १२ घरधुरी पूर्ण रूपमा क्षति पुगेको छ । बाढीले करिब पाँच सय हेक्टर क्षेत्रफल कृषि बालीमा क्षति पुगेको छ । कागतीमा छ कट्ठामा ६० हजारको क्षति पुगेको छ भने तरकारी र फलफूलमा ८.५ हेक्टर क्षति पुगेको छ । यसबाट दुई करोड बाइस लाख ४८ हजार बराबरको अन्य बाली, एघार लाख तीन हजार ६४० तरकारीमा क्षति पुगेको मध्यविन्दु नगरपालिकाका सहायक प्रशासकीय अधिकृत विकास नरसिंह राणाले जानकारी दिनुभयो ।

यसै गरी बाढीका कारण नगरपालिकाभित्र २२ हजार ५७३ घरपालुवा पशुपन्छी मरेका छन् भने यसबाट बिस लाख ६७ हजार दुई सयको क्षति पुगेको छ । यस्तै १३.३३ हेक्टर माछापोखरी, पचास बिघा पराल र सत्तरी हजार अन्डामा क्षति पुगेको उहाँले बताउनुभयो । जिल्लामा खाद्य बालीमा बढी क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो । अझै क्षतिको यकिन तथ्याङ्क आउन बाँकी रहेको भए पनि जिल्लामा करिब ७९५ घरमा आंशिक रूपमा क्षति पुगेको उहाँले बताउनुभयो । पशुपन्छीमा २४६ हास र ४४ हजार पाँच सय कुखुरा मरेका छन् भने धेरै माछा पोखरीको बगाएको छ यसबाट करिब १० करोड, नब्बे लाख, पाँच हजार ५२७ बराबरको क्षति भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनस्र्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेको छ । मध्यविन्दु नगरपालिकाले उक्त क्षेत्रमा सेभ द चिल्ड्रेन नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जालको सहकार्यमा राहत सामग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । नगरपालिकाले भाडाकुडा, ब्लाङ्केट, सरसफाइका सामग्री, खाद्यान्नलगायतका सामग्री प्रदान गर्दै आएको छ ।