श्रीनगर समाचारदाता
सल्यान, असोज २२ गते । सल्यानका किसानले पालेका खसीबोकाको माग अन्य जिल्लामा बढ्दै गएको छ । दसैँका लागि मात्रै सल्यानबाट छ करोड मूल्यका तीन हजारभन्दा बढी खसीबोका निकासी भएका छन् । जिल्लाको कपुरकोट, कालीमाटी र सल्लीबजार नाकाबाट दसैँका लागि तीन हजारभन्दा धेरै खसीबोका निकासी भएको जानकारी दिइएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयले दिएको जानकारी अनुसार त्रिवेणी गाउँपालिकाबाट तीन सय, कपुरकोटबाट एक हजार, कालीमाटी गाउँपालिकाबाट पाँच सय, वनगाड कुपिण्डे नगरपालिकाबाट तीन सय र अन्य पालिकाबाट गरी छ सय खसीबोका निकासी भएका छन् । खसीबोका काठमाडौँ, नेपालगन्ज, दाङलगायतका सहरमा निकासी गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले बताउनुभयो ।
प्रत्येक वर्ष दुई करोड रुपियाँभन्दा बढीको खसीबोका निकासी हुने त्रिवेणी गाउँपालिकाबाट यस वर्ष दसैँका लागि भनेर तीन सय वटा निकासी भएको पालिकाका पशु स्वास्थ्य शाखा प्रमुख वसन्त रावतले बताउनुभयो । किसानले उत्पादन गरेका खसीबोका स्थानीयले सहकारी र फार्मले खरिद गरेर बाहिर पठाएको उहाँले बताउनुभयो । यहाँका किसानले खसीबोका बिक्री गरेको रकमले धुमधामका साथ चाडपर्व मनाउने मात्र नभई वर्षभरिको खर्च टार्दै आएका छन् ।
नजिकिँदै गरेको दसैँका लागि कपुरकोट गाउँपालिकाभित्रबाट भदौको तेस्रो सातादेखि अहिलेसम्म झन्डै दुई करोड मूल्य बराबरका एक हजार खसीबोका निकासी भएको स्थानीय लोकराज बिसीले बताउनुभयो । किसानले पालेका सबै खसीबोका व्यापारीले खरिद गरेर तुलसीपुर र काठमाडौँ पठाएको जानकारी उहाँले दिनुभयो । बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा चिनिने कालीमाटी गाउँपालिकाबाट पनि दसैँका लागि भन्दै छ/सात वटा गाडीमा निकासी भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताउनुभयो ।