मुसीकोट समाचारदाता
रुकुमपश्चिम, असोज २२ गते । दसैँतिहारमा मान्यजन र दाजुभाइबाट टीका थापेर आशीवार्दसँगै दक्षिणास्वरूप रुपियाँ दिने चलन रहेको छ । यो रकमबाट कसैले खेलौना किन्ने, कसैले खुत्रुक्केमा जम्मा गर्ने, नयाँ कपडा किन्ने, मिठाई किन्ने, घुम्न जाने योजना बनाएका हुन्छन् ।
रुकुमपश्चिमको एक विद्यालयका विद्यार्थीले भने यसपालि दक्षिणाको रकम यसरी फजुल गर्न पाउने छैनन् । आठबिसकोट नगरपालिका–१४ मा रहेको जनविकास माध्यमिक विद्यालय ज्यामिरकोटका विद्यार्थीले मान्यजनले दिएको दक्षिणाले पोथी कुखुरा किनेर पाल्नुपर्ने नियम बनाएको छ ।
विगतका दिनमा दक्षिणाको रकम अनावश्यक खर्च गर्ने गरेको भन्दै रकमको उचित लगानीका लागि विद्यालयले यस्तो नियम बनाएको हो । विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार दक्षिणाको रकमले कापी, कलम र अन्य सामग्री किन्न सकिने भए पनि त्यो जिम्मेवारी आमाबुवाको भएकाले विद्यार्थीलाई रचनात्मक काममा जोड्न यो नियम बनाइएको हो । दक्षिणास्वरूप पाएको रकमले कम्तीमा एउटा कुखुराको पोथी किन्ने र त्यसलाई हुर्काउनुपर्ने नियम विद्यालयले बनाएको छ । आगामी चैतमा हुने वार्षिक परीक्षाको समयसम्म उक्त पोथीले चल्ला कोरल्ने समय हुने छ । दक्षिणाको रकमले किनेको पोथीले कोरलेको चल्ला देखाएमा विद्यार्थीलाई पुरस्कृत गरिने थापाले जानकारी दिनुभयो ।
यस कार्यले विद्यार्थीमा श्रमको महत्व बुझाउनका साथै पैसाको बचतबारे जानकारी हुने विद्यालयको भनाइ छ । प्रधानाध्यापक थापाले सानैदेखि पैसाको बचत गर्न, पैसाको महìव बुझ्न, जतन गर्न, सही लगानीको तरिका सिक्न र आत्मनिर्भरको बाटो पहिचान गर्न सजिलो हुने बताउनुभयो ।
सुन्दा सामान्य लागे पनि त्यसले ठुलो अर्थ रहेको विद्यालयका शिक्षक कर्ण मल्लले बताउनुभयो । शिक्षक मल्ललाई यस नियमको कार्यान्वयनबारे अनुगमनको जिम्मेवारीसमेत तोकिएको छ । कसैले झुटो विवरण दिन सक्ने कुरालाई हेरेर दक्षिणाको रकमले पोथी किने नकिनेको, पोथीले चल्ला कोरलेको वा नकोरलेको विषयमा जाँच गर्न र अनुगमन गर्न आफूले जिम्मेवारी पाएको शिक्षक मल्लले जानकारी दिनुभयो ।
विद्यालयले यस्तो नियम बनाएपछि विद्यार्थी पनि दङ्ग भएका छन् । कक्षा ९ मा अध्ययनरत छात्रा सिन्धु मल्लले विद्यालयको यस्तो नियमले आफूहरूमा मनोबल बढेको बताउनुभयो । कक्षा ५ मा अध्ययनरत छात्रा प्रिज्म मल्लले पनि दसैँतिहारमा पाएको पैसा अन्त खर्च नगरेर पोथी कुखुरा किन्न रहर लागेको जानकारी दिनुभयो ।