• २२ असोज २०८१, मङ्गलबार

नोबेल जित्नु ‘भूकम्प’ जस्तै-रुभ्कन

blog

फाइल तस्बिर

स्टकहोम, असोज २१ गते । माइक्रोआरएनए पत्ता लगाउने अमेरिकी वैज्ञानिक ग्यारी रुभ्कनले अर्का अमेरिकी भिक्टर एम्ब्रोसका साथमा सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जित्नुभएको छ ।

रुभ्कनले यो सम्मान जित्नु ‘भूकम्प’ जस्तै भएको बताउनुभयो । “यो ठूलो कुरा हो, यो ठूलो भूकम्प जस्तै हो”, ७२ वर्षीय हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक रुभ्कनले स्टकहोममा पुरस्कार घोषणा गरिएलगत्तै स्विडिश सार्वजनिक रेडियो एसआरएलाई भन्नुभयो । 

सोमबार बिहान अमेरिकामा नोबेल पुरस्कार समितिको फोनले उहाँको निद्रा खुलेको थियो । “बाहिर अँध्यारो छ र हामी घरभरि दौडिरहेका छौँ भनेर कुकुर अलमलमा परेको छ”, उहाँले भन्नुभयो । उहाँले डिसेम्बर १० मा स्टकहोममा हुने नोबेल पुरस्कार वितरण समारोहमा सहभागी हुन उत्सुक रहेको बताउनुभयो । स्टकहोममा स्विडेनका राजा कार्ल सोह्रौँबाट विजेताहरूले पुरस्कार ग्रहण गर्ने छन् । 

उहाँले पहिला पनि ‘केही पटक’ उक्त समारोहमा सहभागिता जनाएको बताउनुभयो । “यो एउटा पार्टी हो, तपाईहरु वैज्ञानिकहरुको समूहलाई पार्टी गर्ने जनावरहरू जस्तो सोच्नुहुन्न तर हामी साँच्चै हौँ”, उहाँले भन्नुभयो । नोबेल समितिले एम्ब्रोसलाई सम्पर्क गर्न भने सकेन । उहाँले पुरस्कृत भएको समाचार एसआरएका एक रिपोर्टरको फोनबाट थाहा पाउनुभयो । 

“वाह ! यो अविश्वसनीय छ, मलाई थाहा थिएन”, म्यासाचुसेट्स मेडिकल स्कूलका ७० वर्षीय प्राध्यापक एम्ब्रोसले भन्नुभयो, “राम्रो, अद्भुत ।” नोबेल पुरस्कारमा एउटा डिप्लोमा, एउटा सुनको पदक र दुई जनाले बाँड्नुपर्ने १० लाख डलरको चेक समावेश छ । 

सहकार्य गर्दै तर अलग-अलग काम गर्दै उहाँहरूले माइक्रोआरएनए पत्ता लगाउनुभयो । माइक्रोआरएनए साना आरएनए अणुहरूको नयाँ वर्ग हो । यसले नियमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र बदलामा प्रत्येक कोशिकालाई सान्दर्भिक निर्देशनहरू मात्र छनोट गर्न अनुमति दिन्छ । गलत तरिकाले हुने जिन नियमनले क्यान्सर र मधुमेह जस्ता गम्भीर रोग निम्त्याउन सक्छ । रासस/एएफपी