• २१ असोज २०८१, सोमबार

सुरक्षाका लागि मधेशमा १० हजार प्रहरी परिचालन

blog

मधेश प्रदेशको सुरक्षा बैठकमा सहभागीहरू । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, असोज २१ गते । मधेश प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बसेको प्रदेशस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको बैठकमा प्रदेशको सुरक्षाको अवस्था र अगामी कार्य योजनाको विषयमा छलफल भएको छ । मधेश प्रदेश भरिमा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १० हजार प्रहरी परिचालन भएको बैठकमा सुरक्षा अधिकारीले जानकारी गराएको छ ।  

नेपाल प्रहरीले राजमार्ग, मेला, हार्ट र संवेदनशील स्थानको सुरक्षाका लागि करिब ६ हजार प्रहरी परिचालन गरेको मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । यसका साथै चाडपर्वमा अत्यधिक मात्रामा मान्छेहरू ओहोरदोहोर गर्ने भएकाले ठाउँ–ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिइएको जानकारी दिँदै सवारी दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरीको सचेतना कार्यक्रम पनि भइरहेको उहाँले बताउनुभयो ।  

त्यसैगरी सुरक्षा बैठकमा दसैँ, दीपावली तथा छठ पर्वमा सिमानाबाट तस्करी, विस्फोटक पदार्थहरू चोरी पैठारी भएर आउने सम्भावनालाई दृष्टिगत गरेर सशस्त्र प्रहरीले प्रदेश भरिमा ४ हजार २ सय ६५ जना सशस्त्र प्रहरी परिचालन गरेको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौबजीले जानकारी दिनुभयो । 

भारतबाट आउने पर्यटकका लागि धनुषाको जटही तथा पर्साको वीरगन्ज नाकामा पर्यटक सहायता कक्षको समेत स्थापना गरिइएको उहाँले बताउनुभयो । यसका साथै प्रदेशभरिमा सशस्त्र प्रहरीको ५० वटा नागरिक सहायता कक्षका साथै २८ वटा विशेष पेट्रोलियम गस्ती परिचालन गर्ने काम भएको उहाँले जानकारी दिनुभयो । 

उहाँले यसका साथै आवश्यकताअनुसार नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले सुरक्षामा सहयोग गरिने गरी नीति बनाएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले चाडपर्वको समयमा राजमार्गमा हुने गरेको सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन निर्देशन दिनु भएको सो मन्त्रालयका कानुन अधिकृत एवम् निमित्त सचिव सञ्जीव सिंहले जानकारी दिनुभयो ।

मन्त्री लेखीले दसैँ, दीपावली तथा छठको समयमा अत्यधिक मात्रामा अवैध बाटो भएर विस्फोटक पदार्थ अर्थात् पटाका भित्रिने गरेकाले त्यसमा कडाइका साथ नियन्त्रण गर्न आवश्यक रहेको बताउँदै मूर्ति सेलाउनेक्रममा सडकजाम गर्ने तथा ध्वनि प्रदूषण गर्नेगरी डिजे बजाउने गरेकालाई नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो ।