• २१ असोज २०८१, सोमबार

उर्लाबारीमा भीषण आगलागी

blog

हरि कोइराला

उर्लाबारी, असोज २१ गते । मोरङको उर्लाबारी–९ दुर्गापुरीमा आइतबार राति १२:३० बजे भीषण आगलागी भएको छ । 

स्थानीय दयाराम न्यौपानेले सञ्चालन गर्दै आएको न्यौपाने सुनचाँदी पसलबाट आगलागी सुरु भएको थियो । आगलागीबाट पसल छेउछाउमा रहेका अनिता तिम्सिनाले सञ्चालन गरेको सुना फेन्सी पसल साथै न्यौपाने पुस्तक पसलमा समेत ठुलो क्षति भएको उर्लाबारी दमकल शाखा विभाग प्रमुख राजन तामाङले बताउनुभयो । 

आगलागी कसरी भयो भन्ने खुलेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने बताउनुभयो । 

प्रहरी निरीक्षक यादवका अनुसार सुनचाँदी पसल छेउछाउका पसलमा आगलागीबाट २० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै सुनचाँदी पसलमा अझ धेरै क्षति भएको छ । आगलागीबाट तीन वटै पसल जलेर पूर्ण रूपमा खरानी बनेका छन् ।

उर्लाबारी, पथरी नगरपालिका र कानेपोखरी गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयको सहभागितामा सोमबार बिहान २:०० बजेतिर पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो । यसअघि गत वर्षको लक्ष्मीपूजाको दिन उर्लाबारी–७ मा रहेको सुनचाँदी पसलमा भीषण आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो ।