• २१ असोज २०८१, सोमबार

भ्रम नछर्न प्रदेश अध्यक्षको चेतावनी

blog

प्रकाशविक्रम शाह

धनगढी, असोज २१ गते । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले तल्लो कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकबिचमा भ्रम नछर्न सोही पार्टीका पूर्व केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावललाई चेतावनी दिनुभएको छ ।

अध्यक्ष जैसीले सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखिएको विषयप्रति नेकपा (एमाले) सुदूरपश्चिम कमिटीले असहमति प्रकट गर्दछ ।’

केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सञ्चार माध्यममा बोलेको कुराको खण्डन गर्ने नाममा रावलले भ्रम छर्न खोजेको प्रदेश अध्यक्ष जैसीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा अध्यक्ष जैसीले भन्नुभएको छ, “पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्चालनमा लेखिरहने प्रवृत्ति पार्टीका लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँग नै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टी कार्यकर्ता र समर्थक शुभेच्छुकबिचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु ।” 

पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्र वकालत गर्न समेत आग्रह गर्दै यस्तै गतिविधि बढ्दै गए तपाईँप्रतिको कार्यकर्ताको विश्वास झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु,  विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष जैसीले पार्टी पङ्क्तिलाई एकताबद्ध हुन तथा भ्रममा नपर्न पनि अपिल गर्नुभएको छ । एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न बनेको कार्यदलसँग रावलले तपाईँहरूसित होइन, अध्यक्ष केपी शर्मा ओलीसित समस्या छ भनेर विभिन्न सञ्चार माध्यममा बोल्नु भएको छ । 

सोही विषयमा प्रतिक्रिया दिँदै नेता रावलले आफू त्यस्तो कुरा नगरेको लेखराजजीले गलत र असत्य बोलेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिनु भएको थियो । सोही विषयलाई लिएर प्रदेश अध्यक्ष जैसीले विज्ञप्ति जारी गर्दै सो कुरा प्रस्ट पार्नुभएको छ ।