• २१ असोज २०८१, सोमबार

भलिबल स्टार उषालाई फेवाको साथ

blog

उषा भण्डारीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिँदै ।

काठमाडौँ, असोज २१ गते । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार उषा भण्डारीलाई फेवा एजुकेसन एण्ड माइग्रेसनले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

नेपाल र अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको फेवाले सोमबार नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित कार्यक्रमबिच उषालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । 

नियुक्तसँगै सम्झौता पत्रमा उषा र फेवा एजुकेसन सिड्नीका निर्देशक दिनेश खनालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार उषाले फेवा एजुकेसनसँगै शैक्षिक उत्कृष्टता, खेलकुद विकास र युवा विद्यार्थीमा नेतृत्वको प्रवर्धनमा सहकार्य गर्नुहुनेछ । 


फेवाले उषालाई आर्थिक सहयोगसँगै वैदेशिक प्रतियोगिताका लागि भ्रमण तथा खेल सामाग्री उपलब्ध गराउनेछ । सम्झौता दुई वर्षको रहेको फेवाका सदस्य समेत रहनुभएका नेपाल भलिबल सङ्घका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभयो ।

सम्झौतापछि उषाले फुटबल र क्रिकेटमा जस्तै भलिबल खेलाडीलाई पनि कर्पोरेट क्षेत्रबाट सहयोग पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले सहयोगले आफ्नो खेलमा थप सुधार आउने पनि बताउनुभयो ।

फेवाले यसअघि राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठलाई पनि आफ्नो ब्रान्ड  एम्बेसडर बनाएको थियो ।