• २१ असोज २०८१, सोमबार

यात्रामय दसैँ

blog

बडादसैँको रौनकले सहर र गाउँमा धपक्कै ढाकिसक्यो । घटस्थापना सुरु भएसँगै घरआँगन, गाउँटोल र बस्तीहरू सफा बन्ने क्रम सुरु भएको छ । गाउँघरका डाँडा, चउर र मैदानमा लिङ्गे पिङ र रोटे पिङ मच्चिन थालिसकेका छन् । घर घरमा मिठामसिना पाकवान पाकेको सुवास फैलिन थालेको छ । जन्मथलोबाट टाढिएका घरमुली घर फिरेपछिको खुसी गाउँमा बिछट्टै बढ्न थालेको छ । अहिले विदेशिएका पारिवारिक मिलनका लागि स्वदेश फर्किने र घरबाहिर रहेका दसैँ मनाउन थातथलो फर्किनेको लर्को लागेको छ ।

बेरोजगारी, बसाइँसराइ तथा बढ्दो सहरीकरणका कारण सुनसान बनेका गाउँमा दसैँतिहारलगायतका चाडपर्व भित्रिएसँगै चहलपहल बढेको छ । काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर जन्मथलो फर्किनेको जमातले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै नयाँ बसपार्क, बालाजु बाइपास, कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीलगायतका क्षेत्रमा भिडभाड र सवारीसाधनको चाप बढेको छ । यात्रुको भिड र सवारीसाधनको चाप बढेपछि काठमाडौँ जोड्ने मुख्य नाकामा सवारीको जाम बढ्दै गएको छ । 

दसैँ बिदाको मेसो पारेर धेरैले देश विदेशका नयाँ ठाउँ र नौलो परिवेशमा घुमघाम गर्ने, पारिवारिक भेटघाटका लागि सहरबाट गाउँ, विदेशबाट स्वदेश फर्किनेलगायतका महिनौँदेखिका आफ्ना यात्राको योजना बनाउने गर्छन् । यस्तै योजना बनाउनुभएका बैतडीका सहदेव भट्ट पनि घरबाट टाढा भएको एक वर्षपछि जन्मथलो फर्किने तयारीमा हुनुहुन्छ । अध्ययन र रोजगारीको सिलसिलामा काठमाडौँमा बस्दै आउनुभएका उहाँ यतिबेला परिवार, इष्टमित्र, बालसखा साथीभाइसँगको भेटघाट हुने दिनको पर्खाइमा हुनुहुन्छ ।

लामो दुरीको यात्रा र आफू कार्यरत एक निजी बैङ्कबाट नयाँ वर्ष, गौरालगायतका पर्वमा घर जान नपाएका उहाँले दसैँ मनाउन घर फर्किने तयारी अनुसार हवाईजहाजको टिकट काटेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुढा हजुरबुवा, हजुरआमा र आमाबुवाको हातबाट टीका र दसैँको आशीर्वाद थाप्न घर फर्किने दिनको पर्खाइमा छु । यस वर्ष सडक मार्गबाट यात्रा गर्न सास्ती हुन सक्ने देखिएकाले फूलपातीको दिन हवाईमार्गबाट धनगढीसम्म र त्यहाँबाट सडक मार्गबाट दसैँको यात्राको तयारीमा छु ।”

आफूसँगैका साथीभाइ र परिवारका सदस्यसमेत दसैँको छेको पारेर देश परदेशबाट घर फर्किने क्रममा रहेको बताउँदै उहाँले घरपरिवार, आफन्त, साथीभाइसँगै बिदा मनाउन र वर्षभरको थकान मेट्ने गरी जन्मथलो फर्किने तयारीमा रहेको सुनाउनुभयो ।

यस्तै राजधानीमा किराना पसल र डेरीजन्य वस्तुको व्यापार गर्दै आएका इलामका केशव अर्याल पनि छोरा र श्रीमतीसँगै दसैँ मनाउन गाउँ फर्किने तयारीमा हुनुहुन्छ । पछिल्लो एक दशकदेखि व्यापार व्यवसायमा रहेको बताउने उहाँले सुरुका केही वर्ष काठमाडौँमै दसैँ मनाए पनि फूलपातीदेखि पूर्णिमासम्म राजधानीमा हुने सुनसान, एक्लोपन महसुस र न्यास्रोका कारण पछिल्ला हरेक वर्ष दसैँ मान्न गाउँ फर्किंदै आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “सडक मार्गबाट सपरिवार गाउँ फर्किने तयारी अनुसार किनमेल गरिसकेका छौँ । छोरा र श्रीमती तिहारसम्मै गाउँमै रहने र म पूर्णिमालगत्तै फर्किहाल्ने तयारी अनुसार दसैँ मान्न गाउँ जाँदै छौँ । दसैँमा घर फर्किन लागेको खबरले बुवाआमा पनि बाटो हेरी बस्नुभएको छ ।”

कैलालीका प्रकाश मल्ल भने यो वर्षको दसैँमा साथीहरूसँग मुस्ताङ जाने योजनामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “वर्षभर आफ्नो कामले व्यस्त हुनेहरूलाई घुमघामका लागि यो उपयुक्त समय हो । दसैँलाई अवस्मरणीय बनाउने तयारी अनुसार साथीहरू मिलेर पोखरा, जोमसोम, कागबेनी, मुस्ताङलगायतका पर्यटकीय गन्तव्य घुम्न जाने योजना बनाएका छौँ ।” घुमघाम सकेर दसैँको अघिल्लो दिन कैलाली पुग्ने उहाँको योजना छ ।

यात्रामा सावधानी

अहिले दैनिक हजारौँ यात्रु दसैँको यात्राको क्रममा रहे पनि दसैँको मुखैमा आएको प्राकृतिक विपत्तिले विभिन्न सडकमा पुगेको क्षतिका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ । प्राकृतिक विपत्तिका कारण मुलुकका दुई दर्जनभन्दा बढी सडक क्षतविक्षत भएका छन् । सुरक्षित सडक यात्राका लागि अहिले यातायात व्यवसायी, सवारीचालक, यात्रुलगायत सबैले सावधानी अपनाउनु आवश्यक छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्गमा सुस्त गतिमा मात्रै सवारीसाधन चल्न सक्ने अवस्था छ । यातायातको चाप अत्यधिक हुँदा सडक खुले पनि लामो समय ट्राफिक जामको समस्या कायमै छ । पुनः पहिरो खस्ने क्रम जारी रहेको, ठाउँ ठाउँमा एकतर्फी सडक र वैकल्पिक सडकसमेत अवरुद्ध हुँदा यस वर्ष यात्रामा सुविधाभन्दा सास्ती धेरै छन् ।

टिकट पाउनै मुस्किल

सडकमार्ग असहज भएको समयमा यात्रुले महँगो भए पनि हवाईयात्रा गर्न चाहँदा टिकट नपाएको गुनासो गरिरहेका छन् । हवाईयात्राका लागि सार्वजनिक सवारीको जस्तो अग्रिम टिकट नखुल्ने भएकाले यात्रुले आफूलाई पायक पर्ने समयको टिकट पहिलै काटिसकेका छन् । जसले गर्दा यतिबेला हवाई टिकट पाउन निकै मुस्किल छ ।

काठमाडौँबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार, सुर्खेत, भोजपुरलगायतका विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती रहेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले भन्नुभयो, “सीमित उडानका कारण दसैँका लागि सबै टिकट सकिएका छन् । अहिले दुर्गमका गन्तव्य मात्रै नभएर सुगमका भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा समेत टिकट पाउन मुस्किल छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भन्नुभयो, “प्रायः गन्तव्यको टिकट बिव्रmी भइसकेकाले कतिपय गन्तव्यमा उडान थप गरेका छौँ । थप गरेका गन्तव्यमा समेत टिकट खोलेको केही समयमै सबै टिकट बिक्री भइरहेकाले यात्रुको माग धान्न मुस्किल छ ।”

एकैदिन पैँतिस हजारले गरे हवाईयात्रा

बाढीपहिरोले सडक अवरुद्ध भएपछि पछिल्ला दिनमा विमानस्थलमा यात्रुको भिड थामिनसक्नु छ । अहिले दैनिक जसो हवाई यात्रुको भिडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भरिभराउ हुने गरेको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भन्नुभयो, “अहिले काठमाडौँबाट बाहिरिने सबै गन्तव्यको जहाज भरिभराउ भएर उडान गरिरहेका छन् । यस वर्ष एकैदिन आन्तरिक र अन्तर्राष्ट्रियतर्फ गरेर एकैदिन ५५९ उडान अवतरणबाट ३५ हजार ७०४ जनाले हवाईयात्रा गरेका छन् ।”

उहाँका अनुसार असोज १४ गते आन्तरिकतर्फ मात्रै ४५०, १५ गते ४३४ र १६ गते ३७५, १७ गते ३२७, १८ गते ३०९ उडान–अवतरण भएका छन् । उक्त उडानमार्फत १४ गते १९ हजार १५६, १५ गते १८ हजार १३७, १६ गते १७ हजार चार, १७ गते १६ हजार ७५३ र १८ गते १८ हजार तीन जनाले ओहोरदोहोर गरेका छन् । उक्त यात्रुमध्ये अधिकांश उपत्यकाबाट बाहिरिने रहेका छन् । यसमा हेलिकोप्टरमार्फत यात्रा गरेकाको सङ्ख्या समेटिएको छैन ।

हवाई यात्रुको अधिक चापका कारण दसैँको पूर्णिमासम्म देशका नौ वटा विमानस्थलमा रात्रिकालीन उडान सुरु गरिएको उहाँले बताउनुभयो । उक्त योजना अनुसार तराईका विमानस्थल बिहान ४:३० बजेदेखि राति १२ बजेसम्म खुला रहने छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ४:३० बजेदेखि राति ३ बजेसम्म खुला रहने छ ।

तीन दिनमा सवा लाख यात्रु बाहिरिए

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज १४ गतेदेखि १६ गतेसम्म उपत्यकाका विभिन्न नाकाबाट एक लाख २६ हजार ४३५ यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी कार्यालय थानकोट चेकपोस्टका अनुसार घटस्थापनको पहिलो दिन नागढुङ्गाबाट मात्रै ३१० बस तथा माइक्रो, १३० ट्रक, निजी कार १८५ र १९५ मोटरसाइकल बाहिरिएका छन् । उक्त सवारीसाधनबाट १२ हजार ५०३ यात्रुले उपत्यका छाडेका छन् । सोही दिन नागढुङ्गाबाट उपत्यकामा भित्रिएका ५४४ सवारीसाधनमार्फत छ हजार ५५४ यात्रु उपत्यका प्रवेश गरेका छन् ।

सडकमार्गबाट एघार लाख यात्रु बाहिरिने 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यस वर्षको दसैँमा सार्वजनिक यातायातबाट करिब ११ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष विजय स्वाँरले भन्नुभयो, “गत वर्ष सार्वजनिक सवारीबाट करिब १६ लाख हाराहारीले दसैँमा यात्रा गरेका थिए तर यस वर्ष बाढीपहिरोका कारण १० देखि ११ लाख यात्रुले सडकमार्गबाट यात्रा गर्ने अनुमान गरेका छाँै । सार्वजनिक बस, माइक्रो बसबाहेक टाटासुमो र निजी सवारीबाट विभिन्न नाका हुँदै रिजर्भ गरेर बाहिरिने यात्रुको सङ्ख्या पनि धेरै छ ।” 

नयाँ बसपार्कबाट मात्रै छ लाखभन्दा बढी यात्रुले अग्रिम टिकट काटेको जानकारी दिँदै उहाँले मौसमका कारण अहिले दैनिक रूपमा टिकट लिने यात्रुको सङ्ख्यासमेत अधिक रहेको बताउनुभयो । मौसममा आएको सुधारसँगै घटस्थापनादेखि बाहिरिने यात्रुको चाप बढेको उहाँको भनाइ छ ।  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।