• २१ असोज २०८१, सोमबार

एनपिएलमा बाह्र क्रिकेटरलाई अधिकतम रकम

blog

काठमाडौँ, असोज २१ गते । विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता उत्कर्षमा छ । भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियामा बिग बैस, वेस्ट इन्डिजमा क्यारेबियन लिग, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा प्रिमियर लिग फ्रेन्चाई क्रिकेट लिगका केही उदाहरण हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि यसपालि सोही प्रकृतिको फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना गर्दै छ ।

फ्रेन्चाई क्रिकेट लिगको एउटा प्रमुख विशेषता क्रिकेटर बोलकबोल (अक्सन) बाट आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले आइतबार खेलाडी अक्सनबाट खेलाडीहरूलाई आआफ्नो टिममा भित्र्याएका छन् । अब नेपालमा क्रिकेट पूर्णरूपमा व्यावसायिकीकरण हुँदै छ भन्ने एनपिएलको खेलाडी किनबेच (अक्सन) ले सङ्केत गरेको छ ।

लुम्बिनी लायन्सले तीन क्रिकेटरलाई अधिकतम रकममा आफ्नो टिममा आबद्ध गरेको छ । लुम्बिनीले स्पिनर सूर्य तामाङ, अलराउन्डरद्वय विवेक यादव र सन्दीप जोराका लागि अधिकतम १५ लाख रुपियाँ खर्च ग¥यो । यसै गरी अलराउन्डर गुलसन झा, आरिफ सेख, स्पिनर ललित राजवंशी, साहब आलम, सागर ढकाल, शीर्ष क्रमका ब्याट्सम्यान अनिल शाह, भीम सार्की, लोकेश बम र बलिङ अलराउन्डर प्रितिस जिसी पनि १५ लाख रुपियाँमा बिक्री हुनुभयो ।

लुम्बिनी किङ्सले सूर्य, विवेक र जोरालाई टिममा ल्याउन अधिकतम रकम खर्च गरेको हो । सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्सले लोकश र प्रतिशलाई सबभन्दा धेरै मूल्य खर्चेर आफ्नो टिममा ल्यायो । गुलसन अधिकतम रकममा कर्णालीमा पुग्नुभयो । साहब आलम र भीम सार्कीलाई काठमाडौँले विश्वास ग¥यो । ललित र अनिलले जनकपुरबाट अधिकतम रकम पाउनुभयो । पोखरा एभेन्जर्सले सागर र सुदूरपश्चिम रोयल्सले आरिफका लागि ठुलो रकम खर्च गरे । नेपाली राष्ट्रिय टिमका प्रारम्भिक ब्याट्सम्यान अनिललाई खरिद गर्न सबै आठ टिमले अधिकतम रकमको बोली लगाएका थिए । अन्ततः लक्की ड्रमार्फत अनिललाई टिममा ल्याउनमा जनकपुर भाग्यशाली साबित भएको हो । गुलसन र लोकेशका लागि पनि सात टिमले अधिकतम बोली लगाएका थिए ।  गोलाप्रथामार्फत लोकेश विराटनगर र गुलसन कर्णालीमा पुग्नुभयो । जनकपुरले लोकेश र लुम्बिनीले गुलसनमा बोली लगाएका थिएनन् । यसै गरी भीम, विवेक, सागर, साहब र ललितलाई पनि गोलाप्रथामार्फत नै अधिकतम रकममा बिक्री हुनुभएको हो । पहिलो चरणमा विनोद भण्डारी, रसिद  खान, कमलसिंह ऐरी, शरद भेषवाकर, अर्जुन साउद जस्ता खेलाडी बिक्री नहुनु आश्चर्यका रूपमा रह्यो । यद्यपि यी सबै खेलाडी दोस्रो चरणमा बिक्री भए । अक्सनबाट प्रत्येक टिमले दस खेलाडी खरिद गरेका हुन् । खेलाडी खरिदमा लुम्बिनीले सर्वाधिक ८४ लाख र चितवनले सबभन्दा कम ६३ लाख रुपियाँ खर्च गरे । सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो ।

क्यानले दर्ताका भएका ४२६ बाट १४२ क्रिकेटरलाई अक्सनका लागि चयन गरेको हो ।  जसमध्ये ८० खेलाडी विभिन्न टिममा आबद्ध भएका हुन् र अक्सनमा ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी रहेका छन् । ग्रेड ‘ए’ मा रहेका व्रिmकेटरलाई न्यूनतम दसदेखि अधिकतम १५ लाख रुपियाँ मूल्य तोकिएको थियो । यसै गरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम दस लाख तथा ‘सी’ ग्रेडका क्रिकेटरका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो । अब यी टिमहरूले चार विदेशी खेलाडीका साथै एक थप खेलाडी प्रतिभा खोजमार्फत आआफ्नो टिममा भित्र्याउने छन् । एनपिएलको पहिलो संस्करण आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।