• १९ असोज २०८१, शनिबार

पहिरोमा परी ट्रेकिङ समूहका भान्सेको मृत्यु

blog

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप क्षेत्रमा यसअघि गएको पहिरो । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १९ गते। ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा गएको एक ट्रेकिङ समूहका भान्सेको पहिरोमा परी मृत्यु भएको छ। प्रहरीका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुका ४१ वर्षीय टीकाबहादुर राईको पहिरोमा परी मृत्यु भएको हो।

तीनजना जापनिज (विदेशी) नागरिकसहितको ट्रेकिङ समूह कञ्चनजङ्घा आधार शिविरतर्फ जाने क्रममा शनिबार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको इटहरीमा माथिबाट झरेको पहिरोमा परी राईको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बिहान करिब ९ः३० बजेतिर पहिरोमा परी राईको घटनास्थलमै मृत्यु भएको हो।

पदयात्राका क्रममा माथिबाट झरेको सुख्खा पहिरोमा परी मृत्यु हुनुभएका राईको टाउको फुटेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो। बस्नेतकै नेतृत्वमा जिल्लाबाट घटनास्थलतर्फ गएको प्रहरी टोलीले घटना विवरण सङ्कलन गरी सकेर राईको शव सदरमुकाम फुङ्लिङ ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो।

प्रहरीका अनुसार कञ्चनजङ्घा भ्रमणमा जाँदै गरेको ट्रकिङ समूहमा भान्से मृतक राईसहित तीनजना विदेशी, एकजना पथप्रदर्शक (गाइड) र १३ भरिया गरी १८ जना रहेका थिए। यता राईको शव सदरमुकाममा पुर्‍याएर जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिने र आफन्त आइसकेपछि शव बुझाइने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो।