• १९ असोज २०८१, शनिबार

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख नगद वितरण

blog

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई नगद उपलब्ध गराउँदै जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोली । तस्बिर :मुरारी अधिकारी

मुरारी अधिकारी
धादिङ, असोज १९ गते । 
एक हप्ता अघि परेको अविरल वर्षा र बाढीपहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत स्वरूपको रकम उपलब्ध गराइएको छ ।

माछा मार्न गएको बेला पानी परेर जोगिन ओडारमा बसेको समयमा ओडार नै पहिरोले पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र सन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई दुई लाखको दरले राहत रकम वितरण गरिएको छ । नेपाल सरकारले तय गरेको स्वीकृत मापदण्डको आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया पूरा गरेर केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने अर्यालले बताउनुभयो ।